सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ असार ।
निर्माण व्यवसायीको लापरबाहीका कारण उत्तरी पर्वतको फड्केढुङ्गा लेकफाँट पर्यटकीय सडक आयोजना अलपत्र परेको छ ।
सडक डिभिजन कार्यालय बागलुङद्धारा चालु आर्थिक वर्षमा दश लाख बजेट बिनियोजन भएको आयोजनाको काम गर्न ठेक्का सम्झौता गरेको निर्माण कम्पनी आर्थिक वर्ष सकिन आठ दिन बाँकी रहँदा पनि कार्यक्षेत्रमा उपस्थित भएका छैनन् ।
निर्माण ब्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण आयोजनाका लागि बिनियोजित बजेट फिर्ता हुने अवस्था आएको उपभोक्ता समितिका अध्यक्ष रमेश मल्लले बताउनुभयो । सडक आयोजनाको काम गर्ने जिम्मेवारी कुश्माका निर्माण ब्यवसायी चिरञ्जिवी शर्माले लिएका थिए ।
आयोजनाको काममा ढिलासुस्ती भएको विषयमा ठेकेदार र सडक डिभिजन कार्यालयलाई ताकेता गरेपनि बेवास्ता भएको अध्यक्ष मल्लको गुनासो छ । माझफाँटको फड्केढुङ्गा देखि पिडाल्नाको भिरसम्म पुगेको सडक लेकफाँट जोड्न करिब तिन किलोमिटर बाँकी छ ।
यसअघिको दुई वर्ष २१ लख र १६ लाख रुपैया बजेटको काम भएपनि यसपाली कुनै पनि काम हुन नसकेको प्रती स्थानीय बासिन्दा निराश भएका छन् । सो सडकको ट्याक खुलेमा माझफाँट देखि लेकफाँट आवत जावत गर्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने र दुरी घट्ने जनाइएको छ ।