सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ असार ।
म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका पशु सेवा केन्द्रहरुको वार्षिक समिक्षा गोष्ठि आईतबार बेनीमा सम्पन्न भएको छ ।
जिल्ला पशु सेवा कार्यालयको आयोजनामा भएको कार्यक्रममा पशु सेवा केन्द्रहरुले चालु आर्थिक वर्ष २०७२७३ मा सञ्चालित कार्यक्रमहरुको उपलब्धि, समस्या, प्रभावकारीता र भावी रणनितीको विषयमा छलफल भएको थियो ।
११ वटा पशु सेवा केन्द्रका प्रमुखहरुले आफ्नो कार्यक्षेत्रमा पशुपालनको विकासका लागि भएका गतिबिधिहरु प्रस्तुत गर्नुभएको थियो । सहभागिहरुले म्याग्दीमा ब्यवसायीक गाईभैसी, भेडा र बाख्रापालन विस्तार हुन थालेकाले आहरा आपूर्तीका लागि घाँस खेतीमा जोड दिएका थिए ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईको अध्यक्षता, पशु विकास अधिकृत नरबहादुर बानियाको स्वागत र पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।