सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १३ असार ।
म्याग्दी जिल्लाका साढे ६८ हजार जनाले तस्विर सहितको मतदाता नामावली दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले सोमबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हालसम्म ३७ हजार ८११ जना पुरुष र ३० हजार ८५२ जना महिला मतदाताले तस्विर सहितको नामावली दर्ता गरेको जानकारी गराइएको हो ।
जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले वि.स २०७० मंसिर ४ गते भएको दास्रो संबिधानसभा निर्वाचन पछि म्याग्दीमा १२ हजार १११ जना नयाँ मतदाताको तस्विर सहितको विवरण दर्ता गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन कार्यालयले ग्रामिण क्षेत्रमा छुटेका मतदाताको विवरण संकलन गर्न सञ्चालन गरेको अद्यावधिक अभियानका क्रममा १४ गाविसका ७७७ जनाको नामावली दर्ता भएको छ । मुदी र रुममा सञ्चालन भएको एकिकृत घुम्ती शिवीर मार्फत १४६ जनाको नामावली दर्ता भएको थियो ।
निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेका नागरीकहरुको मतदाता नामावली र राष्ट्रिय परिचयपत्र वितरणका लागि तस्विर सहितको विवरण दर्ता गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालयका अलावा ग्रामिण क्षेत्रमा घुम्ती टोली परिचालन गरेर नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, नेकपा एमालेका सचिव बालकृष्ण सुवेदी, माओवादी केन्द्रका संयोजक गोविन्द पौडेल लगायतले नगरपालीका क्षेत्रमा छुटेका मतदातालाई समेट्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
निर्वाचन अधिकारी पौडेलको अध्यक्षता, नायव सुब्बा बलबहादुर खत्रीको सञ्चालन र लेखापाल बिमलप्रसाद गौतमको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा राजनितिक दल, सामाजिक संघ संस्था, कार्यालय प्रमुख लगायतको सहभागिता रहेको थियो ।