विकल्प न्यूज/बेनी
असार ५ गते ।
म्याग्दीको निस्कोट र दानामा रहेको गाविस स्तरीय स्थानीय शान्ति समितिलाई आईतबार पुरस्कृत गरिएको छ ।
गाविस स्तरमा शान्ति प्रर्वद्धन र मेलमिलाप कायम गर्न सक्रिय भुमिका निर्वाह गरेकोमा जिल्ला स्तरीय शान्ति समितिले नगद सहित पुरस्कृत गरिएको हो । निस्कोटलाई दश हजार र दानालाई सात हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको हो ।
जिल्लाका नगरपालीका तथा गाविसहरुमा गठन भएका मध्य उत्कृष्ट काम गर्ने दुई वटा गाविस स्तरीय समितिलाई पुरस्कृत गरिएको समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले निस्कोटका गाविस सचिव छवीलाल उपाध्याय र दानाका सचिव लिलाबहादुर चोखाललाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
स्थानीय शान्ति समिति म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठको अध्यक्षता, सदस्य हरि पौडेलको सञ्चालन र नेत्रमहतको स्वागतमा सम्पन्न कार्यक्रममा प्रजिअ आचार्य र स्थानीय विकास अधिकारी पौडेलले गाउँ स्तरमा शान्ति प्रर्वद्धन तथा मेलमिलाप कायम गर्न गाविस स्तरका समितिहरुले सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।