विकल्प न्यूज/बेनी
असार ४ गते ।
म्याग्दीको बेनी नगरपालिका १० तोरीपानीका सागर बानियाँले डेढ लाख रुपैयाँ लगानी गरेर नर्सरी स्थापना गरेका छन् ।
उहाँले परम्परागत खेतीको विकल्पमा गैरकाष्ठ वनपैदावार, जडिवुटी र फलफुलका बिरुवा उत्पादन गरी नगद आम्दानी लिन थालेका छन् । एक वर्षअघि बानियाँले स्थापना गरेको प्रशंसा बहुउद्देश्यीय नर्सरीबाट टिमुर, अलैची, अनार लगायत जडिवुटी र फलफुलका बिरुवा उत्पादन हुन थालेको हो ।
हाल एक रोपनी खेतमा नर्सरी सञ्चालन गरेका बानियाँले त्यहाँ गर्दै आएको धान, गहुँ, मकै जस्ता परम्परागत खाद्यबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताउनुभयो ।
यस वर्ष थप तिन रोपनी क्षेत्रफलमा अलैचीको बिरुवा उत्पादनका लागि नर्सरी विस्तार गर्ने योजना बनाउनुभएका बानियाँले अघिल्लो वर्ष ६ हजार टिमुरका बिरुवा बेचेर एक लाख ५० हजार आम्दानी गरेको बताए । यसपाली उहाँले ५ हजार टिमुरका बिरुवा उत्पादन गरेका छन् ।
चिसो हावापानी पाईन,े पारीलो जमिन भएको तोरीपानीमा नर्सरी सञ्चालनका लागि अनुकुल वातावरण रहेको छ । व्यक्तिगत डेढ लाख रुपैयाँ लगानी गरेर नर्सरी स्थापना गर्नुभएका उहाँलाई लिवर्डद्धारा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमले ४६ हजार र म्याग्दी उद्योग संघले पाँच हजार रुपैयाँ सहयोग गरेका थिए ।