ताजा समाचार:
Search

ज्यामरुककोटका किसानहरु व्यवसायिक कृषि पेशा तर्फ आकर्षित

विकल्प न्यूज/बेनी
म्याग्दी,असार ४ गते ।
बेनी नगरपालिका ३ र ४ नम्बर वडामा पर्ने ज्यामरुककोटका बासिन्दाहरु व्यवसायिक कृषि पेशातर्फ आकर्षित भएका छन् ।

परम्परागत रुपमा निर्वाहमुखी कृषि पेशा अपनाउदै आएका ज्यामरुककोटको गौस्वाँरा, भकुण्डे, रोहोटे, खबरा, बगरफाँट क्षेत्रका बासिन्दाहरु व्यवसायिक बन्न थालेका हुन् । उनिहरुले व्यवसायिक रुपमा मौसमी बेमौसमी तरकारी खेती, मौरी, बाख्रा र कुखुरापालन तथा दूध उत्पादन गरेर आयआर्जन गर्न थालेका छन् ।Kirsir Basayoya

जिल्ला सदरमुकाम बेनी नजिकै रहेको र बजारको राम्रो सम्भावना भएकाले ज्यामरुककोटबासी व्यवसायिक कृषि पेशामार्फत जिवनस्तर सुधार गर्नतर्फ लागेका छन् । करिब दुई रोपनी खेतमा बन्दा, काँक्रो र गोलभेडा खेती गर्नुभएकी बेनपा ४ रोहोटेकी पार्वती घिमीरेले अन्नबालीको भन्दा तरकारी खेतीबाट दश गुणा बढी आम्दानी हुने बताइन ।
घरखर्च चलाउन, छोराछोरी पढाउने आयस्रोत जुटाउदै आएका कृषकहरुले तरकारी बेचेरै लाखौ रकम बचत गर्ने, घरजग्गा पनि जोडेका छन् । ज्यामरुककोट क्षेत्रमा ५० भन्दा बढी कृषकहरुले व्यवसायिक तरकारी खेती गरेका छन् । त्यसैगरी सोही संख्यामा दूध उत्पादन गर्ने कृषकहरु पनि छन् ।

प्रायजसो घरमा बाख्रा पनि पालेका छन् । केही कृषकले ठूलो संख्यामा बाख्रा फार्म पनि सञ्चालन गरेका छन् । तरकारी खेतीसंगै बाख्रापालन गरेका गौस्वाँराका प्रेमबहादुर खत्रीले बिदेशमा गर्ने परिश्रम र मिहेनेत आफ्नै ठाउँमा गर्न सकेमा राम्रो आम्दानीको सम्भावना रहेको बताए ।

गौस्वाँरामा हालै गठीत साना लेक कृषक समूहका अध्यक्ष समेत रहेकी खत्रीले पछिल्लो समय बजारमा पहुँचसंगै कृषकहरुमा व्यवसयिक भावना जागेको बताइन । सो समूहमा आवद्ध २७ घरधुरी मध्य अधिकांशले व्यवसायिक कृषि पेशालाई मुख्य आयस्रोत बनाएका छन् ।
ज्यामरुककोट क्षेत्रमा तरकारी खेतीको राम्रो सम्भावना रहेको स्थानीय अगुवा हिराबहादुर थापाले बताए । सहज रुपमा कर्जा सुबिधा र सिचाईको व्यवस्था गर्न सकेमा धेरै बिदेशीने युवाहरुलाई गाउँमै व्यवसयिक कृषि पेशा मार्फत स्वरोजगार बनाउन सकिने थापाको भनाई छ ।