विकल्प न्यूज/बेनी
म्याग्दी,असार ४ गते ।
म्याग्दीको लुलाङमा रहेको नेपाली हाते कागज उद्योग सात वर्षपछि पुन–सञ्चालनमा आएको छ ।
वि.स २०६५ मा स्थापना भएको सोले हब्स प्रा.लीद्धारा सञ्चालित उद्योग कर्मचारीले बदमासी गरेपछि एक वर्षमै बन्द भएको थियो । सामुहिक रुपमा सञ्चालित उद्योगलाई स्थानीय केशरबहादुर पुर्जाले व्यक्तिगत स्वामित्वमा लिएर यसै वर्षदेखि पुन सञ्चालन गरेका हुन ।
दोलखाबाट काम गर्न आएका कर्मचारी पाल्देन शेर्पाले उद्योगका रकम हिनामिना गरेर फरार भएपछि जनशक्ति अभाव र आन्तरीक समस्याका कारण उद्योग बन्द भएको थियो । उद्योग बन्द हुँदा स्थानीय जंगलमा प्रशस्त मात्रामा पाइने अर्गेलीको लोत्ता खेर गैरहेको थियो ।
लोत्ताको सदुपयोग, स्थानीयलाई रोजगारी सिर्जना र आम्दानीको अवसर प्रदान गर्न उद्योग पुन सञ्चालनमा ल्याएको सञ्चालक पुर्जाले बताए । तिन लाख भन्दा बढी लगानीमा स्थापना गरेको उद्योगमा हाल तिन जनाले रोजगारी पाएका छन् ।
कागज उद्योग पुन सञ्चालनमा आएपछि स्थानीय जंगलमा पाइने लोत्ताको सदुपयोग भएको छ । खेरै गैरहेको लोत्ता संकलन गरेर स्थानीय बासीन्दाले आयआर्जन गर्न पाएका छन् । उद्योगले प्रतिकेजी एक सय रुपैयाँका दरले लोत्ता खरिद गर्ने गरेको छ ।
सामुदायिक वनलाई लोत्ता संकलन गरेवापत प्रतिकिलो पाँच रुपैयाँ कर तिर्नुपर्छ । उद्योगले हालसम्म ६० कोरी नेपाली कागज उत्पादन गरिसकेको छ । एक कोरी नेपाली कागजलाई तिन हजार रुपैयाँ मूल्य पर्छ ।
उद्योगलाई ब्यवस्थित गरेर उत्पादन क्षमत्ता बढाउने सञ्चालक पुर्जाको योजना छ । हाल पानी पर्दा र घाम नलाग्दा कागज सुकाउन समस्या भएको छ । कागज सुकाउन छुट्टै पलास्टीकको टनेल घर बनाउने तयारी गरेका छन् । उद्योग सञ्चालनका लागि लिवर्डद्धारा सञ्चालित बहुसारोकारवाला वन कार्यक्रमले संगम म्याग्दी मार्फत एक लाख २० हजार रुपैयाँ सहयोग गरेको थियो ।