ताजा समाचार:
Search

बेनीमा बाढीले करिब डेढ करोडको क्षत्ती

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० जेठ ।
बेनी बजारमा गएराती आएको बाढील घर तथा पसलहरुमा करिब डेढ करोड रुपैयाँ बराबरको धनमालको क्षत्ती गरेको छ ।

बस्ती माथि रहेको निर्माणाधिन बेनी–देउराली सडकबाट आएको बाढीले एक सय भन्दा बढी घर तथा पसलमा क्षत्ती पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२० घरमा हिलो पस्दा एक करोड ३८ लाख एक हजार रुपैया बराबरको धनमालको क्षत्ती भएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै ४ वटा घरको क्षत्तीको विवरण प्राप्त हुन बाँकी छ । खाद्यान्न, तरकारी, कपडा, स्टेशनरी, ईलेक्ट्रोनिक्स, डेरी, सुनचाँदी, मोवाईल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको हो । शनिबार राती १२ बजेदेखि लेदो र ढुङ्गा सहितको बाढी नाली भरिएपछि फुटेर क्याम्पसचोक र मंगलाघाटको बस्तीमा पसेको थियो ।DSC02939

बेनी पाखापानी सडकको आँपरुख खण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घरहरु डुवानमा परेका हुन् । बेनी–अर्थुङ्गे सडकमा नाली नहुनु, सडक निर्माणका क्रममा पाखोमा माटो फालीनु र क्याम्पसचोकमा बाढीको सहज निकासको व्यवस्था नहुदा बर्षेनी बाढीको समस्या दोहोरीएको स्थानीय बासीन्दा नारायणदत्त सुवेदीले बताउनुभयो ।

सडकको विभिन्न ठाउँमा नाली काटेर एकै ठाउँबाट पानी बग्न नदिने र बाडीएर बग्ने बनाउन सकेमा बाढी आउने समस्या नहुने सर्वसाधारणको भनाई छ । क्याम्पसचोकमा यसअघि वि.स २०६३, २०६९ र २०७२ असार ३० गते पनि बाढी आएको थियो । २०६७ मा सोही सडकबाट आएको बाढी पसेर मंगलाघाट स्थित कर्मचारी आवास भवनहरु डुवानमा परेका थिए ।
क्याम्पसचोकमा थुप्रिएको बाढी पन्छाउन जिविस र नगरपालीका कार्यालयको समन्वयमा आईतबार दिनभर सडक बिभागको लोडर, निजी कम्पनीको जेसीभी र दुई वटा टिपर परिचालन गरिएको थियो । सोमबार पनि हेभी ईक्युभमेन्ट प्रयोग गरेर बाढी ब्यवस्थापन कार्यलाई निरन्तरता दिइने बेनी नगरपालिकाका कार्याकारी अधिकृत छवीलाल सुवेदीले बताउनुभयो ।

नेपाल प्रहरीको साथमा ३५ जना श्रीबक्स गुल्म र ३५ जना चण्डीका गण कुश्माका शशस्त्र प्रहरीले स्थानीयको घरभित्र पसेको हिलो र पुरीएका सामाग्री निकाल्न सहयोग गरेका थिए । क्याम्पसचोकका घरधनी र पसल सञ्चालकहरु दिनभर हिलो पन्छाउन व्यस्त थिए । न्युरोड हुदै हुलाकचोक र संगमचोक हुदै क्याम्पसचोक देखि एक किलोमिटर टाढा बालमन्दिर चोकबाट बाढी म्याग्दी नदीमा मिसीन गएको थियो ।DSC00019

यसैगरी अर्थुङ्गे तोरीपानी सडक निर्माणका क्रममा खनिएको माटोको सुरक्षित ब्यवस्थापन नहुँदा अर्थुङ्गे स्थित श्रीबक्स गुल्म, स्थानीयको घर र खेतबारीमा पनि बाढी पसेको छ । गुल्मको तिन वटा बल्क हिलाम्मे बनेको छ । सडकबाट आएको बाढीले अर्थुङ्गेका चित्रबहादुर बरुवालको कुखुरा फार्ममा क्षत्ती गरेको छ ।

बाढीका कारण घरहरु जोखिममा पर्नुका साथै खेत, बारी पुरीएको स्थानीय बासिन्दा धु्रबलाल शर्माले बताउनुभयो । स्थानीय बासिन्दाले जिविस, ड्रिलीप आयोजना कार्यालय र प्रशासनमा पुगेर बाढी नियन्त्रण र क्षत्तीपुर्तीको माग गरेका थिए । बेनपा ९ मा घनश्याम सुनारको घर पनि पहिरोको जोखिममा परेको छ ।

सडक निर्माण गर्दा आगँनतिरको भित्ता खनिएपछि घर भत्कने अवस्थामा रहेको र परियोजनाले दिने भनेको क्षत्तीपुर्ती पनि नदिएको सुनारले गुनासो गर्नुभयो । उता बेनपा ५ डम्मरामा पनि एक वटा कुखुरा फार्म र घर बाढीले पुरीएको छ भने एउटा घरभित्र बाढी पसेर क्षत्ती पुगेको छ ।

भेषबहादुर बानियाको खुकुरा फार्म, प्रमिला क्षेत्रीको घरभित्र बाढी पसेको हो । यस्तै डम्मराकै हर्कबहादुर बिकको घरभित्र बाढी पस्नुका साथै पिढीको ढिल भत्कने अवस्थामा रहेको छ । ठाउँ ठाउँमा खाल्डो परेकाले बेनी–अर्थुङ्गे सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । क्याम्पसचोकमा आउने बाढीको सुरक्षित निकास गराउने उद्देश्यले निर्माणाधिन अवस्थामा रहेको नालीलाई पनि बाढीले क्षत्ती गरेको छ ।

सो ठाउँमा थप नाली निर्माण गर्न ३८ लाख ५० हजार रुपैयाँ बजेट प्राप्त भएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी केशव आचार्य, स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल लगायत प्राबिधिक र सुरक्षा अधिकारीहरुको टोलीले आँपरुख खण्डको सडकको निरिक्षण गरेको छ ।