सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० जेठ ।
म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राती आएको बाढीले एक सय भन्दा बढी घर तथा पसलमा क्षत्ती पु¥याएको छ ।
बस्ती माथिको पाखोमा रहेको खोल्साबाट राती ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मंगलाघाटका घरभित्र पसेको हो । लेदो र ढुङ्गा सहितको बाढी नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि घरहरुमा पसेको हो ।बेनी पाखापानी सडकको आँपरुख खण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घरहरु डुवानमा परेका हुन् । क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पिपलचोक, गणेशटोल, संगमचोक र न्युरोडको हुलाकचोक बैंक चोक सम्मका घरहरु प्रभावित भएका छन् ।
मंगलाघाटको साईबाबा मन्दिर र तल्लो बजार क्षेत्रका घरहरुमा पनि बाढी पसेको छ । खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोवाईल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको क्याम्पसचोकका बासिन्दा गोविन्द बानियाले बताउनुभयो । बाढी नियन्त्रण र ब्यवस्थापनमा प्रहरी, सेना र स्थानीयबासी खटिएका थिए ।
बाढीको त्रासका कारण बेनी बजारका बासिन्दाहरु रातभर जाग्राम बसेका छन् । ‘सुत्ने तर्खर गरिरहेका बजार बजारबासीहरु एक्कासी ठूलो बाढी आएपछि जाग्राम बसेर रात कटाए’ क्याम्पसचोक स्थित माछापुच्छ्रे बैंकका सुरक्षा गार्ड कबिराम सुनारले भन्नुभयो ।घरअगाडीको सडकमा करिब डेढ मिटर माथिसम्म बाढी थुप्रिएको छ । राती करिब दुई घण्टा लगातार परेको भिषण बर्षासंगै आएको बाढीले पु¥याएको क्षत्ती विवरण आईतबार बिहानदेखि संकलन गरिने प्रहरी निरिक्षक लोकन्द्र सिङ गुरुले बताउनुभयो ।
‘राती बाढी व्यवस्थापन र घरभित्रका सामानहरु सुरक्षित गराउन केन्द्रित भयौ’ प्रहरी निरिक्षक गुरुले भन्नुभयो ‘आईतबार बिहानैदेखि क्षत्तीको विवरण संकलन गर्छौ ।’ क्याम्पसचोकमा यसअघि वि.स २०६३, २०६९ र २०७२ असार ३० गते पनि बाढी पसेको थियो ।
बेनी पाखापानी सडक निर्माणका क्रममा माटो जथाभावी फाल्नुका साथै सडकको ढल व्यवस्थापनमा ध्यान नदिएकाले क्याम्पसचोक र मंगलाघाट बाढीको चपेटामा परेको स्थानीयबासीन्दा मुकुन छन्त्यालले बताउनुभयो ।