ताजा समाचार:
Search

लामगराका कृषक सहकारी खेतीमा

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी,जेठ २३ गते ।
बेनी नगरपालीका १मा पर्ने लामगरा, आनन्दबगर, सिम र सारेमारेका कृषकहरु सहकारी खेतीमा जुटेका छन् । तरकारी खेतीमा गाउँका सबै घरधुरीलाई समेट्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सहकारी खेती आयोजना सञ्चालन गरिएको हो ।

त्यहाँका बासिन्दालाई ब्यवसायिक तरकारी खेतीमा आकर्षीत गर्न स्थानीय लामगरा ब्यवसायीक कृषि सहकारी संस्थाले कृषकहरुलाई निशूल्क कृषि सामाग्री, औजार, मल र विउको व्यवस्था गरेको छ । व्यवसायिक तरकारी खेतीमा लामो अनुभव सँगालेका अगुवा कृषकहरुले नयाँ कृषकलाई ज्ञान, सिप प्रदान गरेर प्रोत्साहन गरेका छन् ।Sahakari Khati

गाउँलाई तरकारी खेतीमा नमुना बनाउने, आयआर्जन वृद्धी र रोजगारी सिर्जना गरि बिदेशीनुपर्ने समस्या न्युनीकरणका लागि सहकारी खेती आयोजना सञ्चालन गरेको लामगरा वयवसायिक कृषि सहकारी संस्थाका अध्यक्ष कमल थापा मगरले बताए ।

यसअघि सो क्षेत्रका १५ जनाले व्यवसायिक तरकारी खेती गर्दै आएकोमा यस वर्ष सहकारी खेती आयोजना मार्फत थप ५० जनाले व्यवसायिक तरकारी खेती सुरु गरेका छन् । लामगरा, आनन्दबगर, सिम र सारेमारे क्षेत्रमा तरकारी खेती विस्तार गर्न खनजोत गर्नका लागि आवश्यक पर्ने तिन वटा मिनिटिलर हलोको ब्यवस्था गरेको छ ।

यसैगरी १५ वटा पलास्टीक टनेल, सिचाईका लागि पाईप, हजारी, विउ खरिद गरेर सदस्यहरुलाई उपलब्ध गराइएको छ । कृषि औजार, सामाग्री र विउ खरिद गर्न जिल्ला कृषि विकास कार्यालयले चार लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । कृषकहरुले थप ८७ हजार चारसय रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

यस क्षेत्रमा व्यवसायिक तरकारी खेतीको राम्रो सम्भावना रहेको र तरकारी खेती गरेका कृषकले पनि सफलता पाएकाले अन्य कृषकहरुलाई व्यवसायिक तरकारी खेतीमा संलग्न गराउन आयोजना सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले बताए ।

तरकारी खेती गरेका कृषकहरुले मासिक न्युनतम १५ हजार रुपैयाँ सम्म आम्दानी गरेका छन् । बढीमा प्रतिकृषक पाँच लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको छ । त्यहाँका कृषकले उत्पादन गरेको तरकारी सदरमुकाम बेनीमा खपत हुने गरेको छ । उत्पादीत तरकारी बिक्री नहुने चिन्ता नभएको कृषक सुनीता क्षेत्रीले बताइन ।