विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ२३ गते ।
म्याग्दीको बिकट, दलित समुदायको धेरै बसोबास रहेको र गरिबीबाट प्रभावित लुलाङ गाविसका महिलाहरु सिपमुलक ब्यवसायतर्फ आकर्षित भएका छन् ।
लुलाङका गरिब तथा विपन्न समुदायका महिलाहरुले स्थानीय स्रोत साधनमा आधारीत उद्यम व्यवसाय सञ्चालन गर्नका लागि सिप सिक्न थालेका छन् । घराधन्दा, मेलापात र घाँसदाउरामा सिमित महिलाहरु सिप सिकेर आत्मनिर्भर बन्न अग्रसर भएका हुन् ।
उनिहरुले अल्लोको पुवा संकलन तथा प्रसोधन, जडिवुटी, आलु, तरकारी खेती, कुखुरापालन, होटल ब्यवसाय, होमस्टे, स्वीटर बुनाई, सिलाईकटाई र बुटीक सम्बन्धि तालीम लिएर उद्यम ब्यवसाय गर्न आकर्षित भएका हुन् ।
स्थानीय स्तरमा उपलब्ध स्रोत साधन र सिपलाई परिचालन गरी आयआर्जन वृद्धीका लागि उद्यम गर्न थालेको लुलाङ स्थित मिलीजुली लघुउद्यमी समूहकी अध्यक्ष तारा बिकले बताइन ।
घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमले लुलाङमा आयोजना गरेको ४५ दिने स्वीटर बुनाई तालीममा सहभागि बिक यसैलाई ब्यवसायिक बनाउने सोचमा हुनुहुन्छ ।
आर्थिक स्रोतमा पहुँच नहुँदा दुई चार रुपैया आवश्यक पर्दा समेत श्रीमान र आफन्तमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न तालीममा सहभागि दश जना महिलाहरुले सामुहीक रुपमा स्वीटर बुन्ने व्यवसाय गर्ने तयारी गरेका छन् ।
अधिकांश युवा तथा पुरुषहरु बिदेशीएको लुलाङ गाउँमा रहेका महिलाहरुले घरायसी कामबाट बचेको समय जंगलमा गएर अल्लो पुवा, लोत्ता र जडीवुटी संकलन गर्ने, पुवाबाट धागो बनाउने, कपडामा बुटिक भर्ने जस्ता आयआर्जन मुलक काम गर्न थालेका छन् ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत लुलाङमा डेढ महिने बुटीक, स्वीटर बुनाई, बिस दिने अल्लो धागो बुन्ने र पाँच दिने बाख्रापालन तालीम सञ्चालन भएको छ ।
गरिबी बढी भएको, स्थानीय स्रोत साधनको उपलब्धता र बजार सम्भावनाको रहेकाले लुलाङका महिलालाई आत्मनिर्भर बनाउन सिपमुलक तालीम सञ्चालन गरिएको घरेलु उद्योग विकास समितिका उद्योग विकास अधिकृत मिरादेवी अधिकारीले जानकारी दिइन ।