प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ २१ गते ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको आजदेखि सदरमुकाम बेनीमा २५औं अधिवशेन शुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले रेडक्रस मानवीय सेवा गर्ने संस्था भएकाले सोहीअनुसार सामाजिक कार्य गर्नुपर्ने बताए । उनले रेडक्रसमार्फत समाजमा विना भेदभाव मानवीय तथा सामाजिक कार्यहरु गर्नुपर्ने बताएका छन् ।
सोही कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी पश्चिमाञ्चल क्षेत्रीय उपसभापति सुदर्शनप्रसाद नेपालले सामाजिक र मानवीय सेवाको क्रियाकलापमा रेडक्रस अग्रपङ्तिमा रहेकोमा जोड दिए । उनले सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्ने बताउँदै सामाजिक क्रियाकलापहरुमा उपशाखाको अमुल्य भूमिका रहेको धारणा राखेका छन् ।
कार्यक्रमको अवसरमा रेडक्रस म्याग्दी शाखाका भूतपूर्व सभापतिहरु भीमप्रसाद गौचन, गोविन्द नरसिंह राजभण्डारी, भगवानप्रसाद श्रेष्ठ, माधव रेग्मी, डाक्टर भूपेन्द्रबहादुर खड्का, हरिकृष्ण श्रेष्ठ, मुक्ति रोका र स्वर्गीय विरेन्द्र श्रेष्ठको परिवारलाई खादा र अबिर लगाई प्रमाणपत्रले सम्मान गरिएको छ ।
यसैगरी भूकम्पपीडितलाई सहयोगका लागि आर्थिक तथा जिन्सी स्रोत जुटाउने जिल्लाका सामाजिक संघसंस्था एवं रेडक्रसका उपशाखालाई पनि सम्मान गरिएको थियो । त्यस्तै जुनियर तथा युवा रेडक्रस निबन्धलेखन प्रतियोगितामा प्रथम न्यु वेष्ट प्वाइन्ट आवासीय उच्च माविका सोफिया जिसीलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । त्यसैगरी जुनियर तथा युवा रेडक्रस दिवसमा कवितावाचनमा प्रथम हुने न्यु वेष्ट प्वाईन्टका लिना तिलिजा मगर र द्वितीय जामुनाखर्क उच्च मावि अर्थुङ्गेका शुष्मा पौडेल पनि नगद र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।
विश्व रेडक्रस दिवसमा आयोजित कवितावाचनमा प्रथम न्यु वेष्ट प्वाईन्टका कृति शर्मा र द्वितीय पौलस्त्य उच्च मावि भिरमुनीका सन्दीप मिजारलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको रेडक्रस म्याग्दीले जनाएको छ । यसैबीच महिला सहभागीता उत्कृष्ट उपशाखा प्रोत्साहन पुरस्कारबाट सिङ्गा उपशाखा एवं उत्कृष्ट उपशाखातर्फ भूरुङ–तातोपानी, पुलाचौर र सिङ्गा उपशाखालाई सम्मान गरिएको छ ।
कार्यक्रममा रेडक्रस म्याग्दीका मन्त्री अमर बानियाँले प्रगति र कोषाध्यक्ष याम शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमाल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमिरे, राप्रपाका अध्यक्ष एकेन्द्रबहादुर रावल, राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष नरबहादुर थापामगर, अखण्ड नेपाल पार्टीका अध्यक्ष डम्बरबहादुर बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्य र रेडक्रसका भूपू सभापति हरिकृष्ण श्रेष्ठले मन्तव्य राखेका थिए ।
रेडक्रस म्याग्दी शाखाले जिल्लामा रक्तसञ्चार केन्द्र, प्राथमिक आँखा उपचार, एम्बुलेन्स सेवा सञ्चालनलगायतका विभिन्न मानवीय एवं सामाजिक गतिविधिहरु गर्दै आइरहेको छ । हाल रेडक्रसका २३ उपशाखा र ७० ओटा युरेस तथा जुरेस सर्कलहरु क्रियाशिल रहेका छन् ।
कार्यक्रम रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमालको अध्यक्षता, उपसभापति सुवासकुमार श्रेष्ठ र बेनी उपशाखा सभापति राजेन्द्रकुमार श्रेष्ठको स्वागत तथा शाखा अधिकृत धनञ्जयकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले बन्दसत्र शुरु भएको छ भने बन्द सत्रबाट रेडक्रसको नयाँ कार्यसमिति चयन गरिने बताइएको छ ।