प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ २१ गते ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको शुक्रबार हुने २५औं अधिवेशनको सबै तयारी पुरा भएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न हुन गैरहेको अधिवेशनको तयारी पुरा गरिएको रेडक्रस म्याग्दी शाखाले जनाएको छ ।
अधिवेशनमा रेडक्रस जिल्ला शाखा र जिल्लाका विभिन्न गाविसहरुमा रहेका उपशाखाबाट गरी कुल १४० जना प्रतिनिधिहरुले सहभागीता जनाउने भएका छन् । रेडक्रसको विधानमा हरेक उपशाखाबाट ५ जना प्रतिनिधि आउने व्यवस्था रहेको छ ।
अधिवेशन सफल बनाउन हालसम्म अतिथि निमन्त्रणा, पत्राचार, प्रचारप्रसार, आर्थिक सङ्कलन, हल व्यवस्थापन, स्वयंसेवक परिचालनलगायतका कामहरु गरिएको रेडक्रस म्याग्दी शाखाका मन्त्री अमर बानियाँले बताए । अधिवेशनको म्याग्दीका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी कार्यक्रममा रेडक्रस केन्द्रबाट उपसभापति सुदर्शन नेपाल विशिष्ट अतिथिको रुपमा आउने मन्त्री बानियाँले जानकारी दिएका छन् । उक्त अधिवेशनबाट रेडक्रस म्याग्दीको नयाँ नेतृत्व चयन हुने भएको छ । नयाँ नेतृत्वका लागि नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले यसअधि नै उपशाखाका संस्थापक सभापति अमर बानियाँलाई सभापतिमा उठाउने निर्णय समेत गरिसकेको छ ।
‘सेवा नै धर्म हो’ भन्ने भावना बोकेको रेडक्रसले समाजमा घट्ने हरेक प्रकारका दैवी तथा प्राकृतिक प्रकोपको समयमा समुदायमै पुगेर पीडितहरुलाई सहयोग गर्दै आइरहेको छ । यसैगरी क्याम्पस र विद्यालय तहमा युवा रेडक्रस र जुनियर रेडक्रस सर्कलहरु गठन गरी विभिन्न किसिमका मानवीय सेवाका कार्यहरुमा क्रियाशिल रहेको छ ।