विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ २० गते ।
एक करोड भन्दा बढीको लागतमा बेनी नगरपालीका ३ भकुण्डेमा ज्यामरुककोट स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ ।
सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङले भूकम्प प्रतिरोधात्मक क्षमत्ता भएको अपांगमैत्री भवन निर्माण गरेको हो । उक्त भवन निर्माणका लागि एक करोड १९ लाख ४० हजार २४७ रुपैयाँ लगानी भएको कार्यालयका ईञ्जिनियर तेजेन्द्र पौडेलले बताए ।
१७ वटा कोठा भएको नयाँ भवनमा १५ जना सम्म बिरामीहरुलाई राखेर उपचार गर्न सक्ने क्षमत्ता रहेको छ । दुई तले भवनमा इमरजेन्सी कक्ष, शैया, प्रशासनिक कक्षका साथै कर्मचारीको आवास र तालीम हलको लागि छुट्टाछुट्टै कोठाहरु रहेका छन् ।
१८ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित आर्थिक वर्ष २०६८/६९ मा निर्माण सुरु भएको थियो । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण निर्धारीत मिति भन्दा तिन वर्ष ढिलागरी भवन निर्माण भएको ज्यामरुककोट स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमीरेले बताए ।
रफीना एण्ड कन्ट्रक्सनले भवन निर्माणका लागि ठेक्का लिएको थियो । अध्यक्ष घिमीरेका अनुसार नयाँ भवनबाट शुक्रबारदेखि सेवा प्रवाह सुरु गरिएको छ । भवन निर्माणमा ढिलाई हुँदा निजी घर भाडामा लिएर स्वास्थ्य संस्था सञ्चालन गरिएको थियो । मासिक तिन हजार पाँच सय रुपैयाँ भाडा तिर्ने गरि भाडामा लिइएको घरका कोठा साँघुरो भएकाले सेवा प्रवाहमा समस्या भएको थियो ।
यसैबीच ज्यामरुककोटका बासिन्दाहरुले ठेकेदारले नयाँ भवन निर्माणका क्रममा ढिलासुस्तीका साथै गुणस्तरीय र मापदण्ड अनुसारको काम नगरेको आरोप लगाएका छन् । रंग रोगन गरेकाले बाहिरबाट हेर्दा भवन चिटिक्क देखिएपनि फर्नीचर, ढलान, पलास्टर लगायतमा कमशल किसीमका निर्माण सामाग्री प्रयोग भएको स्थानीय अगुवा हिराबहादुर थापाले बताए ।
यस वर्ष ज्यामरुककोट सहित सिंगा र लुलाङ स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०६९७० मा निर्माण सुरु भएको बेनी स्थित जिल्ला स्वास्थ्य कार्यालयको भवन निर्माण कार्य पनि समयमै पुरा हुन सकेको छैन् ।
सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय मार्फत गत आर्थिक वर्षमा राम्चेको स्वास्थ्य चौकी र भगवतीमा आर्युवेद औषधालयको भवन निर्माण सुरु भएको थियो । यस वर्ष बिम, भगवती, बरंजा र देविस्थान स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको छ । जिल्ला अस्पतालको ५० शैया क्षमत्ताको भवन निर्माण गर्न प्रक्रिया अघि बढेको इञ्जिनियर पौडेलले बताए ।