विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ २० गते । बेनी नगरपालिकालाई सरसफाईमा नमुना बनाउन अभियान सञ्चालन गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दी, बेनी नगरपालिका कार्यालय,वास पत्रकार मञ्च म्याग्दी र टोलसुधार समितिहरुको संयुक्त प्रयासमा नगर क्षेत्रलाई सरसफाइयुक्त बनाउन अभियान सञ्चालन गरिएको हो ।
वास पत्रकार मञ्च म्याग्दीले साप्ताहिक रुपमा सञ्चालन गरेको कालिगण्डकी – म्याग्दी नदी वृहत सरसफाई अभियान सँगै जोडेर बजार क्षेत्रलाई पनि सरसफाईयुक्त बनाउन अभियान सञ्चालन गरिएको छ ।
जेठ २३ गतेबाट सुरु हुने १७ औ राष्ट्रिय सरसफाइ सप्ताह दिवस २०७३ का अवसरमा बजारका विभिन्न स्थानहरुमा विहिबार फोहोर राख्ने कन्टेनर राखिएको छ । फोहोर जम्मा हुने बजारका मूख्य स्थानहरुमा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको सहयोगमा कन्टेनरहरु राखिने बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।
नगरक्षेत्रलाई सफा राख्ने दायित्व सवै नगरवासीहरुको भएकाले दैनिक रुपमा संकलन हुने फोहोर नगरपालिकाबाट सञ्चालन हुने ट्याक्टरमा मात्र हाल्न उहाँले सवैमा आग्रह गर्नुभएको छ । सार्वजनिक स्थलहरुमा जथाभावि फोहोर फालेको पाइएमा कानुन अनुसार दण्ड जरिवाना गरिने उहाँले बताउनुभयो ।
विहिवार वसपार्क क्षेत्रमा ३ ओटा,बेनी – दरवाङ जिप पार्क र बेनपा ७ पिपल चोकमा एक/एक वटाका दरले फोहोर राख्ने कन्टेनर राखिएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।
उहाँका अनुसार सरसफाई दिसका अवसरमा बेनी बजारका चोकचोकमा फोहोर राख्ने कन्टेनर राखिने भएको छ । कन्टेनरमा जम्मा भएको फोहोरलाई बेनी नगरपालिकाद्धारा सञ्चालित ट्याक्टरले उठाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । पहिलो चरणमा बजारका पाँच स्थानमा विहिवार कन्टेनर राखिएको हो । सरसफाई सप्ताह दिवस सम्म बजारका मूख्य स्थानहरुमा कन्टेनर राखीसक्ने उहाँले बताउनुभयो ।
यसै गरि जिल्लाका ३५ गाविसहरुमा दुइ देखि पाँच वटाका दरले फोहोर राख्ने कन्टेनर राख्ने व्यवस्था गर्न लागिएको प्रमुख इन्जिनियर केसीले बताउनुभयो । जिल्लामा पूर्ण सरसफाइयुक्त अभियान सञ्चालन गरिएकाले अभियानलाई सफल पार्न सार्वजनिक स्थलहरुमा फोहोर राख्ने कन्टेनर राख्नुका साथै सरसफाइ मुलक सन्देश लेखिएका सूचना वोर्ड राखिने प्रमुख केसीले बताउनुभयो । अहिले सम्म जिल्लाका चार गाविसलाई पूर्ण सरसफाई यक्त गाविस घोषणा गरिसकिएको छ ।