ताजा समाचार:
Search

बेनी–दरवाङ सडक कालोपत्रे सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,जेठ २० गते ।
म्याग्दीको सदरमुकामदेखि पश्चिमी क्षेत्रलाई जोड्ने बेनी–दरवाङ सडक कालोपत्रे गर्न सुरु भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङले बेनी देखि सडक कालोपत्रे गर्ने काम सुरु गरेको हो । पहिलो चरणमा बेनी खानेपानी संस्थाको कार्यालय देखि माथि रहेको चोकबाट मंगलाघाटसम्म कालोपत्रे गर्न सुरु गरेको सडक डिभिजनले आगामी वर्ष पनि कालोपत्रे योजनालाई निरन्तरता दिने जनाएको छ ।

यस वर्ष ठेक्का मार्फत एक करोड रुपैया बराबरको काम हुने सडक डिभिजन कार्यालयका ईञ्जिनियर अनन्त बरालले जानकारी दिनुभयो । उहाँका अनुसार ६५० मिटर सडक कालोपत्रे गर्न जयबाबा गोरखा ओखलढुङ्गा कन्ट्रक्सनले ६५ लाख रुपैयाँमा ठेक्का लिएको छ ।DSC02519
पाँच मिटर फराकीलो सडकमा नाली पनि निर्माण भएको छ । आगामी एक हप्ताभित्र कालोपत्रे गरिसक्ने लक्ष्य रहेको निर्माण ब्यवसायी वुद्धीमान तामाङले बताउनुभयो । सडक बिभागले पश्चिम म्याग्दीका २० भन्दा बढी गाविसलाई सदरमुकामसंग जोड्ने यस सडकलाई रणनीतिक सडकको रुपमा प्राथमिकतामा राखेको छ ।

२५ किलोमिटर दुरीको बेनी–दरवाङ सडक स्तरवृद्धी र कालोपत्रे गर्नका लागि विस्तृती आयोजना प्रतिवेदन (डिपीआर) तयार गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । डिपीआर अनुसार बहुवर्षे ठेक्का आव्हान गरेर कालोपत्रेलाई अघि बढाउने तयारी भएको ईञ्जिनियर बरालले बताउनुभयो ।

सो सडकको डम्मरा चुत्रेनी खण्डमा सडक चक्लाउने, नाली बनाउने र पहिरो रोकथामको काम भैरहेको छ । वि.स २०५५५६ तिर सुरु भएको बेनी दरवाङ सडक निर्माण कार्यले २०६३ मा पूर्णता पाएको थियो । ट्याक खुलेको एक दशकपछि सडक कालोपत्रे हुन लागेको हो ।

सो सडकबाट बेनी नगरपालीकाको साथै बाबियाचौर, बरंजा, अर्मन, कुहुँ, निस्कोट, दरवाङ, ओखरबोट, रुम, देविस्थान, बिम, मराङ, मल्कवाङ, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र बागलुङको लामेला तमान गाविसका बासिन्दाहरु आवत जावत गर्दै आएका छन् ।

हाल सार्वजनीक सवारी साधनमा यात्रा गर्दा दुई घण्टा तिस मिनेट लाग्ने सो सडक कालोपत्रे भएमा तिस मिनेटमै पार गर्न सकिने जनाइएको छ । कच्चि र साँघुरो सडकको यात्राका क्रममा यात्रुले सास्ती ब्यहोर्दै आएका छन भने ढुवानी पनि बढी पर्ने गरेको छ ।