सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ जेठ ।
म्याग्दीको निजामती कर्मचारी वृत्तमा आगामी साता हुने आधिकारीक टे«ड युनियनको निर्वाचनको सरगर्मी बढेको छ ।
जेठ १९ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न कर्मचारी संघ संगठनहरुले प्रचारप्रसार, भेटघाट लाई तिब्रता दिएका छन् । म्याग्दीमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघ, एमाले निकट नेपाल निजामति कर्मचारी संगठन र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले चुनावी गतिबिधिलाई तिब्रता दिएका छन् ।
सरकारले निजामती कर्मचारीहरुको टे«ड युनियनलाई व्यवस्थित गर्दै उनिहरुको हक अधिकारका विषयमा सामुहिक सौदावाजी गर्ने वातावरण बनाउन गर्न लागेको आधीकारीक ट्रेड युनियन निर्वाचनमा कार्यालय प्रमुख, संस्थान र स्वास्थ्य सेवा बाहेकका कर्मचारीले मतदान गर्न पाउने ब्यवस्था छ ।
म्याग्दीमा ३५० जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत खेमराज पाठकले जानकारी दिनुभयो । छ वटा कर्मचारी संघ, संगठनहरु उमेद्वार रहेको निर्वाचनमा दश प्रतिशत भन्दा कम मत ल्याउने संगठनले आधीकारीक टे«ड युनियनको मान्यता नपाउने सरकारले निर्णय गरिसकेको छ ।
संगठनले मत पाएको आधारमा पदाधीकारी र कार्यसमिति सदस्यहरुको पद तथा संख्या बिभाजन हुने ब्यवस्था रहेको छ । समानुपातीक प्रणालीमा निर्वाचन हुन लागेको हो । जेठ १९ गते बिहान ९ देखि ५ बजेसम्म बेनीमा मतदान हुने र यहीनै मतगणना गरेर केन्द्रमा पठाइने निर्वाचन अधिकृत पाठकले बताउनुभयो ।
उहाँका अनुसार निर्वाचनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि जेठ १६ गतेदेखि मौन अवधि सुरु हुने जनाइएको छ । मौन अवधिमा प्रचारप्रसार गर्न पाइदैन् ।