प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ १२ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा आगामी असार ३ गतेका दिन एकल कवितावाचन कार्यक्रम हुने भएको छ । बुधबार सुवासना साहित्यिक सदन बेनी, म्याग्दीले पत्रकार सम्मेलनको आयोजना गरी कवि भूपिन व्याकुलको ‘एकल कवितावाचन’ कार्यक्रम गरिने जनाएको छ ।
कार्यक्रमबारे जानकारी दिँदै संयोजक भरत पौडेल ‘बागलुङ’ले कला, साहित्यको संरक्षण गरी सर्जकको सम्मान गर्ने उद्देश्य राखिएको बताए । उनले कला, साहित्यलाई अनुपात्दक क्षेत्रका रुपमा मानिने गरिएकाले यसको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गर्न कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि म्याग्दीका वरिष्ठ साहित्यकार भक्त कार्कीले पछिल्लो समय जिल्लामा साहित्य क्षेत्र फस्टाउँदै गएको धारणा राखेका थिए । उनले साहित्य क्षेत्रको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिँदै साहित्य र कलाले देश विकासमा महत्वपूर्ण भूमिका खेलेको औंल्याएका छन् ।
कार्यक्रम सफल पार्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको सुवासना साहित्य सदनले जानकारी दिएको छ । साहित्यिक कार्यक्रमको संयोजक भरत बागलुङ, आर्थिक सङ्कलनमा सुशील थकाली, टिकट बिक्रीमा लिलाराम पौडेल, ध्वनी संयोजनमा नकुल ढकाल, मञ्च तथा हल व्यवस्थापनमा दर्पण रोका र प्रचारप्रसारमा सन्दीप खत्रीलाई जिम्मा दिइएको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्नका लागि कुल एकलाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । धौलागिरि अञ्चलस्तरीय कार्यक्रम भएको हुँदा पर्वत र बागलुङमा पनि प्रचारप्रसार गरिने भएको छ भने कार्यक्रममा धौलागिरि अञ्चलका साहित्यिक मनहरुको सहभागीता रहने जनाइएको छ ।
कवि भूपी शेरचनपछिको पछिल्लो समयमा धौलागिरिबाट हस्तक्षेपकारी कवितालेखनमा कवि भूपिन सक्रिय रहेका छन् । कवि शेरचनले जस्तो कविता लेख्न सक्ने बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने कार्यक्रममा बताइएको थियो । सुवासना साहित्य सदनका अध्यक्ष सुशील थकालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा साहित्यकार अजयमिलन श्रेष्ठले मन्तव्य राखेका थिए ।