पैसाको खोलो बगाएर उपलब्धी सून्य
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ जेठ ।
म्याग्दीमा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमले वन संरक्षण र जिविकोपार्जन सुधारका लागि करिब पाँच करोड रुपैयाँ लगानी गरेको छ ।
फिनल्याड, स्वीस सरकार र बेलायतको अन्तराष्ट्रिय विकास नियोग (डि.एफ.आई.डी)को सहयोगमा लिवर्डद्धारा सञ्चालित कार्यक्रमले चार वर्षको अवधिमा म्याग्दीमा उक्त बजेट लगानी गरेको हो । बेनीमा मंगलबार आयोजित जिल्ला स्तरीय कार्यक्रम समापन गोष्ठिमा लिवर्डका जिल्ला प्रतिनिधि ईन्द्र कार्कीले वन संरक्षण र समुदायको जिविकोपार्जनमा सुधार ल्याउनका लागि चार करोड ७६ लाख ६० हजार रुपैया लगानी भएको जानकारी दिनुभयो ।
वनमा आधारीत उद्यमको विकास गरि समुदायको जिवनस्तर सुधार गर्न दुई चरणमा चार हजार २३५ घरधुरीलाई तिन करोड ३२ लाख ३० हजार रुपैया अनुदान दिइएको कार्कीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा एक हजार ३१६ घरधुरीलाई ४६ लाख १५ हजार र दोस्रो चरणमा दुई हजार ९१९ घरधुरीलाई दुई करोड ८९ लाख १५ हजार रुपैया उपलब्ध गराइएको छ ।
सामुदायीक वन उपभोक्ता समूह मार्फत विपन्न तथा गरिब उपभोक्तालाई बाख्रा, खरायो, कुखुरा, बंगुर पालन, हस्तकला र बाँसका सामान निर्माण, टिमुर र चिराइतो खेती गर्न प्रतिघरधुरी न्युनतम १५ हजार रुपैयाका दरले पाँच प्रतिशत ब्याजदरमा दुई वर्षका लागि अनुदान उपलब्ध गराइएको छ ।
यसैगरी १९ वटा गाविस र ७१ वटा सामुदायीक वन उपभोक्ता समूहमा जलवायु परिवर्तनको असर तथा क्षत्ती न्युनीकरणका लागि स्थानीय जलवायु अनुकुलन योजना (लापा) तयार गरिएको छ । योजना कार्यान्वयनका लागि २६ गाविस र बेनी नगरपालीकालाई एक करोड ४४ लाख तिस हजार रुपैया अनुदान उपलब्ध गराइएको छ ।
सो अनुदानबाट १८७ वटा पहिरो रोकथाम, भल तर्काउने, खानेपानीको मुहान संरक्षण, कुलो मर्मत सम्बन्धि योजना निर्माण भएको छ । बहुसरोकारवाला वन कार्यक्रमको सहयोगमा १७९.६७ हेक्टर वन क्षेत्रलाई दश वटा समुदायमा हस्तान्तरण गरिएको छ । यसैगरी ५०.६७ हेक्टर क्षेत्रफलमा सिर्मू, फलाट, चाँप, लौठ सल्ला, दालचिनी, लेकाली सल्लो र रिठाको वृक्षारोपण भएको छ ।
भुसंरक्षणका लागि २९ हजार अम्रिसो, आठ हजार सात सय डालेघाँस बिरुवा रोपीएको छ भने हिस्तान, दरवाङ र अर्मनको तिन वटा सामुदायीक वनमा चिराइतो खेती गरिएको छ । दाताले करोडौ लगानी गरेपनि सरोकारवालाहरुसंग समन्वयको कमी, बिना सर्वेक्षण पुर्वाधार निर्माणको काम हुनु, जिविकोपार्जन सुधारमा भएको उपलब्धी देखिन नसकेको कारण प्रभावकारी नभएको म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले बताउनुभयो ।
यसैबीच दश वर्षका लागि सम्झौता भएको कार्यक्रम सरकार र सरोकारवालाहरुले दातासंग गरेको प्रतिवद्धता पुरा नगर्नु लगायतका कारण चार वर्षमै फिर्ता भएको छ । दातृ निकायको बजेट कटौती हुनुका साथै दातासंग भएको सहमती अनुसार कार्यक्रम कार्यन्वयन गर्ने संयन्त्र गठन नभएपछि परियोजना फिर्ता गरेका दातृ निकायले आफ्नो प्राथमिकता प्राप्त क्षेत्रमा अर्को चरणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका बहुसरोकारवाला वन कार्यक्रमका क्षेत्रीय प्रतिनिधि सुजिता श्रेष्ठले बताउनुभयो ।
स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलको अध्यक्षता, लिवर्डका श्यामलाल बिकको सञ्चालन र क्षेत्रीय कार्यक्रम ब्यवस्थापक गणेशनाथ आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा राजनितिक दल, कार्यालय, गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । साझेदारी संस्था संगमका बबिता पुन र सामुदायीक वन उपभोक्ता महासंघकी बिष्णु रोकाले संस्थाको गतिबिधि प्रस्तुत गर्नुभएको कार्यक्रममा राजनितिक दलहरुको तर्फबाट नेकपा एमालेका सचिवालय सदस्य कृष्णकुमार विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।