ताजा समाचार:
Search

क्याम्पसचोकमा बाढी नियन्त्रण आयोजना सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,जेठ ९ गते ।
म्याग्दी सदरमुकाम बेनीको क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि खोल्सामा पक्की नाला निर्माणकार्य सुरु भएको छ ।

बस्तीमाथिको पाखोबाट आउने बाढीलाई सुरक्षित रुपमा निकास गराउन म्याग्दी बहुमुखी क्याम्पसको चमेनागृहदेखि माथितिर नाली निर्माण गर्न थालीएको हो । यस वर्ष बेनी नगरपालिका कार्यालय र जिविसको चालीस लाख रुपैयाँ सहयोगमा क्याम्पसचोक माथिको खोल्सामा नाली निर्माण कार्य सुरु भएको स्थानीय टोल सुधार समितिका अध्यक्ष श्याम श्रेष्ठले जानकारी दिए ।Campus chok

उनका अनुसार नाली निर्माणका लागि जिविसले सांसद विकास कोषबाट दश लाख र नगरपालिकाले तिस लाख रुपैयाँ उपलब्ध गराएको छ । टोल सुधार समितिकै नेतृत्वमा उपभोक्ता समिति बनाएर नाली निर्माणको काम अघि बढाइएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको चमेनागृहदेखि करिब असी मिटर माथिसम्म नाली निर्माण भैसकेको छ । असार मसान्तसम्म थप तिन सय मिटर माथिसम्म नाली बनाउने लक्ष्य रहेको छ । नाली निर्माण भएपछि पाखोको भल सुरक्षित रुपमा निकास हुने र खोल्साको छेउछाउमा कटान गरेर बाढी आउने समस्या नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

बस्ती माथिको पाखोबाट खोल्सामा बगेर आउने बाढीले क्याम्पसचोक क्षेत्र बर्षेनी डुवानमा पर्ने र घरभित्र भलबाढी पसेर धनमालको क्षत्ती हुने समस्या रहेको छ । बाढीबाट क्याम्पसचोक र हिलसाईड क्षेत्रका एक सय घर जोखिममा छन् ।