सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ जेठ ।
बेनीमा बुधबार माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतियोगितात्मक प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालयले न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविको सभाहलमा आयोजना गरेको कार्यक्रममा विभिन्न स्रोत केन्द्रबाट छनौट भएर आएका विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएका थिए । भाषा तथा साहित्य, गणीत, विज्ञान, सिर्जनात्मक कला र बिबिध शिर्षकमा विद्यार्थीहरुबीच प्रतियोगिता गराइएको थियो । विद्यार्थीहरुले नृत्य तथा गायन, चित्रकला, निबन्ध, कबिता, विज्ञान प्रबिधि सम्बन्धि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
एउटा विषयमा एक जना उत्कृष्ट विद्यार्थी छनौट गरेर जेठ आठ गते पोखरामा हुने क्षेत्रीय स्तरको प्रतियोगितामा सहभागि हुन पठाइने कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो ।यसअघि १२ वटा मध्य ११ वटा स्रोत केन्द्रमा प्रतिस्पर्धा गराएर प्रतिभाशाली विद्यार्थी छनौट गरिएको रेग्मीले बताउनुभयो । जिशिअ रामप्रसाद अधिकारीको अध्यक्षता र प्राबिधिक सहायक प्रकाश गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।