ताजा समाचार:
Search

पिप्ले मौवाफाँटका दृष्टिविहिन विद्यार्थीहरुको सफलता

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ ३ ।
पिप्लेको मौवाफाँटमा सञ्चालित दृष्टिविहिन स्रोतकक्षाका विद्यार्थीहरुले नियमित अध्ययनका अतिरिक्त खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्न थालेका छन् । ज्ञानोदय माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुले अध्ययनका अतिरिक्त साङ्गीतिक प्रस्तुती एवं खेलकुदको क्षेत्रमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
गएको वैशाख ३० र ३१ गते काठमाडौंको दशरथ रङ्गशालामा सम्पन्न २१औं विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिताको विभिन्न विधामा सहभागी भई दृष्टिविहिन विद्यार्थीहरुले दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । उक्त प्रतियोगितामा दृष्टिविहिन विद्यार्थी विशाल विश्वकर्माले लङजम्प र दोस्रो स्थान तथा बल थ्रो र सटपुटमा तेस्रो स्थान हासिल गरेको ज्ञानोदय माविका प्रधानाध्यापक निलकण्ठ सुवेदीले बताए । 13250521_616656661824404_890621127_n
सोही प्रतियोगिताको लङजम्पतर्फ ज्ञानोदयकै भरत रिजालले तेस्रो स्थान हासिल गरेको विद्यालयले जनाएको छ । विजेता सहभागीहरुलाई नगद, प्रमाणपत्र र पदकले पुरस्कृत गरिएको प्रअ सुवेदीले जानकारी दिएका छन् ।
म्याग्दीमा ज्ञानोदय मावि राखुपिप्ले, धौलागिरि मावि सिङ्गा र बालजागृति प्रावि बगुवाखोलामा क्रमशः दृष्टिविहिन, बहिरा र बौद्धिक अपाङ्गता स्रोतकक्षा सञ्चालनमा रहेका छन् । जिल्ला शिक्षा कार्यालयको न्युनतम सहयोगमा सञ्चालित यस्ता स्रोतकक्षाहरु सञ्चालन गर्न आर्थिक तथा भौतिक पूर्वाधारको कमी भए पनि विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा जेनतेन कक्षा सञ्चालन भैरहेको ती विद्यालयको भनाई छ ।
उक्त विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नुका साथै विभिन्न उपाधिहरु जित्दै आएका छन् ।