सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३ जेठ ।
म्याग्दीको दरवाङ क्षेत्रका नव दम्पत्तीहरुलाई अनिच्छित गर्भाधानको समस्या न्युनीकरण गर्ने उद्देश्यले सोमबार परामर्श दिइएको छ ।
परिवार नियोजन संचार अभियान (एचसीथ्री) परियोजनाको आयोजनामा दरवाङमा भएको नवबिवाहीत जोडिहरुका लागि शुभकामना आदानप्रदान कार्यक्रममा परिवार नियोजनका साधनको प्रयोग, प्रजनन् स्वास्थ्य र जन्मान्तरको विषयमा परामर्श दिइएको हो ।
नवबिवाहीत दम्पत्ती, सिमान्तकृत समुदाय र प्रवासी कामदार तथा उनिहरुका परिवारलाई परिवार नियोजनका साधनको प्रयोग र जन्मान्तरको विषयमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजेन्द्र पौडेल र परियोजनाका जिल्ला संयोजक सरस्वती पुरीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा दरवाङ, निस्कोट र ओखरबोट गाविसका १५ जोडी नवदम्पत्तीहरुको सहभागिता रहेको थियो । अनिच्छित गर्भाधान हुनबाट रोक्ने, जन्मान्तर कायम राख्ने, २० वर्षअघि बच्चा जन्माउने दरमा कमी ल्याउने र गर्भपतन गराउनुपर्ने अवस्था आउन नदिन परिवार नियोजनका साधनको प्रयोग गर्न नवदम्पत्तीहरुलाई परामर्श दिइएको थियो ।
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेन्द्र पौडेलको अध्यक्षता, गाविस सचिव सोमबहादुर केसीको प्रमुख आतिथ्यता र फिल्ड सुपरभाईजर भिमप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जनप्रिय उच्च माविका प्रअ दिवाकर सुवेदी, स्थानीय अगुवा रघुनाथ न्यौपाने, महिला स्वास्थ्य स्वमसेवीकाहरुको पनि उपस्थिती रहेको थियो ।