सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,जेठ २ गते ।
बरंजा गाविस ९ धापुङ गाउँमा विकासका पूर्वाधार निर्माणले तिब्रता पाएको छ । सडक, विद्युतीकरण, सञ्चार, भवन लगायतका पुर्वाधार निर्माणले तिब्रता पाएपछि बरंजा गाविसको पिछडिएको बस्ती धापुङका बासिन्दामा खुसीयाली छाएको छ ।
यसअघि गाउँलाई सडक सञ्जालसंग जोडेका धापुङका बासिन्दाले केन्द्रिय प्रशारण लाईनको विद्युत पनि पु¥याएका छन् । १०१ घरधुरीको बसोबास रहेको धापुङ र महेश गाउँका बासिन्दाले आलुको विउ भण्डारण गर्ने भवन निर्माण गरिसकेका छन् । त्यहाँका बासिन्दाहरु यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी झोलुङ्गे पुल र विद्यालयको दुई कोठे भवन निर्माणमा जुटेका छन् ।
गत वर्ष सो गाउँमा खानेपानी आयोजना निर्माण गरि प्रत्येक घरमा खानेपानी सुबिधा विस्तार गरिएको थियो । पछिल्ला केही वर्षयता विकास गतिबिधीले तिब्रता पाएपछि दुर्गम र बिकट भएपनि गाउँलेको जिवनस्तरमा परिवर्तन आएको स्थानीय बासीन्दा दलबहादुर पुनले बताउनुभयो ।‘पुर्वाधार विस्तारसंंगै गाउँको सम्भावनालाई पहिचान गरि आत्मनिर्भर र आम्दानी बढाउने किसीमका गतिबिधिलाई प्राथमिकता दिएका छौ’ पुर्व वडा अध्यक्ष प्रेमबहादुर श्रीसले भन्नुभयो ‘आलु, सुन्तला खेती र बाख्रापालन मार्फत गाउँको आर्थिक विकास गर्ने योजना छ । गाउँमै आयआर्जन गर्ने वातावरण बनाएर बसाईसराई र बिदेश पलायनलाई रोक्नुपर्छ ।’
घरघरमा खानेपानी सुबिधा, पक्कि शौचालय, सडक मार्फत सामान ढुवानी, टेलिभिजन हेर्न, मोवाईलमा इन्टरनेट मार्फत सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदा गाउँमा भएपनि सहरमै बसे सरह महशुस भएको श्रीसको अनुभव छ । सडक सुबिधा भएपछि निर्माण र खाद्यान्न लगायत आयात गर्नुपर्ने सामाग्रीको ढुवानी सहज भएकाले पुर्वाधार निर्माणको काममा सहज भएको बरंजा गाविसका सचिव गोविन्द जिसीले बताउनुभयो ।
सचिव जिसीका अनुसार स्थानीय बासीन्दाको सक्रियता र सडकको सुबिधाका कारण आलुको विउ भण्डारण गर्ने भवन निर्माण योजना तोकिएको समयभन्दा अगावै सम्पन्न भएको हो । शनिबार जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले उद्घाटन गरेको दश मेट्रिक्टन क्षमत्ताको भवनमा ¥याक राखेर आलुको विउ भण्डारण गर्ने योजना रहेको छ ।
दुई तले भवनको तल्लो तलामा विउ आलुको सुरक्षित रुपमा भण्डारण गर्ने र माथिल्लो तलामा आमा समूह, युवा कल्वको कार्यालय, भेला, बैठक, तालीम लगायत सामाजिक काममा प्रयोग गरिने भवन निर्माण समितिका अध्यक्ष दलबहादुर पुनले बताउनुभयो । लालिगुराँस बिशेष कृषक समूहको नेतृत्वमा करिब सात लाख रुपैयाको लागतमा निर्माण भएको भवनमा स्थानीयले नगद र श्रम गरेर तीन लाख बराबरको लगानी गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले दुई लाख ७५ हजार, गाविस स्तरीय कृषि वन तथा वातावरण समितिले एक लाख र महिला सञ्जालले सत्तरी हजार रुपैया लगानी गरेको छ । आलुको विउ भण्डारण गर्ने भवन बनेपछि गुणस्तरीय आलु उत्पादन गर्न सकिने र विउका लागि आलु खोज्न डाँडापारी जानुपर्ने बाध्यता हट्ने अध्यक्ष पुनको अपेक्षा छ । जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत थापाले धापुङलाई कृषिमा नमुना बनाउन भण्डारण गृह सहयोगी बन्ने बताउनुभयो । भवनमा सुरक्षित रुपमा आलुको विउ भण्डारण गर्न र आलु खेती विस्तार गरेर आयआर्जनमा अग्रसर हुन थापाले स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो ।
भवनसंगै धापुङ र महेश गाउँमा केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा विस्तार भएको छ । १०१ घरमा विद्युत जोडिएको छ । जिविस र नेपाल विद्युत प्राधिकरणले दशदश लाख रुपैया सहयोग गरेको विद्युतीकरण योजनामा गाविसले सात लाख ५९ हजार र उपभोक्ताले आठ लाख आठ हजार रुपैयाँ लगानी गरेका छन् । भवन र विद्युतीकरण योजना सम्पन्न भएको खुसीयालीमा स्थानीय बासिन्दाले भजन किर्तन र नाचगान गरेर खुसीयाली मनाएका छन् ।
सो वडाका बासिन्दाहरु गाउँ भन्दा तल रहेको खोलामा झोलुङ्गे पुल र अरनीको प्राबीको दुई कोठे भवन बनाउन श्रमदान गर्ने तयारीमा छन् । युवा र धेरैजसो पुरुषहरु बिदेशीएकाले श्रमदान तथा सामाजिक काममा महिलाहरु बढी सहभागि हुने गरेका छन् । सो गाउँमा भुसंरक्षण कार्यालयको सहयोगमा भुक्षय र पहिरो रोकथाम तथा वातावरण संरक्षण सम्बन्धि कार्यक्रम सञ्चालन भएको छ ।
‘गाउँलेले विकासमा सक्रियता र सहभागिता बढाएकै कारणले अहिले विभिन्न सुबिधा पाएका छौ’ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थजालीले भन्नुभयो ‘सरकारी निकायले सुगम ठाउँलाई आधार बनाएर गरेको लागत सर्वेक्षणका कारण दुर्गम ठाउँका उपभोक्तामा श्रमदान र चन्दाको भार परेको छ ।’
भकिम्लीको मरेक, मुसुङ डोले हुदै धापुङ जोड्ने सडकलाई जिल्ला विकास योजनामा समेट्नुपर्ने माग गर्दै अध्यक्ष थजालीले ग्रामिण क्षेत्रका विकास आयोजनाहरुमा त्यहाँको भौगोलिक अवस्था र ढुवानीलाई ध्यान दिएर लागत सर्वेक्षण गर्नुपर्ने सरकारी निकायहरुलाई आग्रह गर्नुभयो । नवविकल्प साप्ताहिकमा प्रकाशित