ताजा समाचार:
Search

बेनीमा ल्याण्डफिल साइड खोजीका एकदशक

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,जेठ २ गते ।
करिब डेढ दशक बितेपनि बेनीको फोहोर ब्यवस्थापन गर्ने ‘ल्याण्डफिल साइड’को लागि जग्गा पहिचान हुन सकेको छैन् ।

एक दशकअघि थालीएको जग्गाको पहिचान गर्ने कार्यले सार्थकता नपाउँदा कालीगण्डकी नदीमा फोहोर फाल्ने कार्यले निरन्तरता पाइरहेको छ । नदीमा फोहोर नफाल्न र ‘ल्याण्डफिल साइड’को खोजी गर्न अदालतले जारी गरेको निर्देशनात्मक निषेधाज्ञा आदेशको पालना भएको छैन् ।

तिब्र रुपमा बजारीकरण भैरहेको बेनी बजारमा फोहोर ब्यवस्थापन प्रमुख चुनौती बनेपनि सरोकारवालाको बेवास्ता, जिम्मेवारी बोधको कमी र ढिलासुस्तीका कारण फोहोर ब्यवस्थापन गर्ने ठाउँ पहिचान हुन नसकेको हो । बेनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत छवीलाल सुवेदीले ल्याण्डफिल साइड बनाउनका लागि उपयुक्त जग्गा खोजी गर्न तत्कालीन अर्थुङ्गे गाविस छदाँदेखिनै पहल भएको बताउछन् ।

‘स्थानीय निकायको रित्तता, जनशक्ति अभाव, प्रस्तावीत ठाउँमा बिवाद हँदा ल्याण्डफिल साइडका लागि जग्गा पहिचान गर्ने प्रयासले सार्थकता पाउन नसकेको हो’ कार्यकारी अधिकृत सुवेदीले भने ‘अहिले ल्याण्डफिल साइडको जग्गा खोजी गर्न नगरपालिकाले प्राथमिकता दिएको छ ।’

अधिकृत सुवेदीका अनुसार बेनी बजारको फोहोर ब्यवस्थापनका लागि दुई वटा सम्भावित ठाउँको पहिचान गरिएको छ । बेनी नगरपालीका १ ठूलोरानी सामुदायिक वन क्षेत्रमा पर्ने बेनी–बागलुङ सडक भन्दा माथि रत्नेचौरको पहाडको कुना र चुत्रेनी पारी भकिम्लीको कोप्रेलाई ल्याण्डफिल साइडका लागि प्रारिम्भक रुपमा प्रस्ताव गरिएको छ ।

राजनीतिक दलसंग सो विषयमा परामर्श सुरु गरीएको अधिकृत सुवेदीले जानकारी दिए । स्थानीय बासीन्दा र सरोकारवालासंग अर्को चरणमा छलफल गरि छनौट गर्ने नगरपालीकाको योजना छ । ल्याण्डफिल साइडको जग्गा पहिचान गर्न नगरपालीकाले दलिय प्रतिनिधि नेपाली काँग्रेसका रुद्रबहादुर केसीको संयोजकत्वमा गत वर्ष एक कार्यदल गठन गरेको थियो । Fohor ko news
कार्यदलले पहल गरेपनि निरन्तरता दिन नसकेपछि उनिहरुको परामर्शमा नगरपालीका आफैले जग्गा पहिचान गर्न अग्रसरता देखाएको छ । ल्याण्डफिल साइड बनाउन आठ देखि १० रोपनी जग्गा आवश्यक पर्छ । यसअघि पनि विभिन्न ठाउँमा ल्याण्डफिलका लागि जग्गा पहिचान भएपनि स्थानीयले असहमती जनाएपछि सार्थकता पाउन सकेको थिएन् ।
अहिले फोहोर फालीदै आएको रातो पहिरो, हाडेभिर भन्दा माथिको जंगलक्षेत्र, खबरा, आनन्दबगर लगायतका ठाउँमा ल्याण्डफिल प्रस्ताव गरिएपनि स्थानीयले बिरोध गरेका थिए । अर्कोतर्फ हाल भै रहेको कालीगण्डकी नदी किनारमा फोहोर फाल्ने कार्य रोक्न र ल्याण्डफिल साइडको खोजी गर्न अदालतले पनि एक वर्षअघिनै निशेधज्ञा जारी गरेको थियो ।

पुनरावेदन अदालत बागलुङले बेनी नगरपालीका र जिल्ला प्रशासन कार्यालयलाई नदीमा फोहोर फाल्ने कार्य बन्द गराउन र फोहोर ब्यवस्थापनका लागि ल्याण्डफिल साइडको खोजी गर्न एक वर्ष अघि जारी गरेको निर्देशनात्मक निषेधाज्ञा आदेश अझै कार्यान्वयन नभएको हो । कालीगण्डकी नदीमा बेनी बजारको फोहोर फालीदा सभ्यता, वातावरण र जलचरको अधिकारमा असर परेको भन्दै अधिवक्ता चिरञ्जीवी शर्माले तत्कालीन अर्थुङ्गे गाविस र प्रशासनलाई विपक्षी बनाएर दर्ता गराएको भएको मुद्दाको एक वर्षअघि फैसला भएको थियो ।

पुनरावेदन अदालतका तत्कालीन निमित्त कायम मुकायम मुख्य न्यायाधिश सारदाप्रसाद घिमीरे समेतको संयुक्त इजलासबाट नदीमा फोहोर फाल्ने कार्य तत्कान बन्द गरि ल्याण्डफिल साइडको खोजी गर्न निर्देशनात्मक निशेधाज्ञा आदेश जारी भएको थियो ।

बेनी नगरपालीका र प्रशासन कार्यालयले एक वर्षसम्म पनि अदालतको आदेश कार्यान्वयन गर्न प्रभावकारी कमद चाल्न नसकेको प्रती अधिवक्ता शर्माले दःुख व्यक्त गरे । नगरपालीका र प्रशासनलाई मात्र दोष देखाएपनि आदेश पालना नहुनुमा राजनीतिक दल, संघ संस्था र नागरिक समाज पनि जिम्मेवार रहेको शर्माको भनाई छ ।

एक दशकभन्दा धेरै समयदेखि बेनी बजारमा संकलन हुने फोहोरलाई बेनी गलेश्वर सडक छेउको रातोपहिरो स्थित कालीगण्डकी किनारमा बिर्सजन गरिदै आएको छ । यसैगरी बजारबासीले फोहोर संकलन गर्ने ट्याक्टर नआएको भन्दै सिधै नदी किनारमा लगेर आफै पनि फोहोर फाल्दै आएका छन् ।

नौ सय भन्दा धेरै घर र पन्ध्रहजार जनसंख्याको बसोबास रहेको बेनीमा दैनिक तिन ट्याक्टर फोहोर संकलन हुन्छ । सडक, बस्तीको छेउ र नदी किनारमा फालीएको फोहोरको दुर्गन्धका कारण स्थानीयबासीन्दाको स्वास्थ्यमा पनि असर परेको जलेश्वरका इन्द्र बरुवालले बताए । वि.स २०६० देखि रातोपहिरोमा बेनीको फोहोर लगेर बिर्सजन गरिदै आएको छ । करिब चार वर्ष उद्योग वाणिज्य संघले गरेको फोहोर ब्यवस्थापनको काम पछि तत्कालीन अर्थुङ्गे गाविसलाई दिइएको थियो ।

बेनी नगरपालीकाका कार्यकारी अधिकृत सुवेदी भने धेरै वर्षदेखि फोहोर ब्यवस्थापन गर्ने बैकल्पीक ठाउँको खोजी गरेपनि सफल हुन नसक्दा रातोपहिरोमा लगेर फाल्नुपर्ने बाध्यता रहेको स्वीकार गर्दछन् । एक महिनायता वास पत्रकार मञ्चको पहलमा म्याग्दीकाली सरसफाई अभियान सञ्चालन हुदै आएपनि स्थानीय बासीन्दाले नदी किनारमा फोहोर फाल्ने ब्यवहार सुधार गरेका छैनन् ।

ल्याण्डफिल साइडका लागि जग्गा पहिचान भएमा मन्त्रालयले बजेट उपलब्ध गराउने आवश्वास दिएकाले पछिल्लो समय नगरपालीका सक्रिय बनेको छ । जग्गाको खोजीसंगै नगरपालीकाले फोहोर ब्यवस्थापनको दिगो उपाय पहिचान गर्न हालै आधारभुत सर्वेक्षण पनि गरेको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको फोहोर ब्यवस्थापन केन्द्रको सहयोगमा नगरपालीकाको ५, ६, ७, ८ र ९ नम्बर वडामा सर्वेक्षण गरिएको हो ।

कहाँ, कस्तो फोहोर, कती मात्रामा उत्पादन हुन्छ र कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्राबिधिक टोलीले एक हप्तासम्म सर्वेक्षण गरेर फर्कीएको नगरपालीकाका कर्मचारी कृष्ण सुवेदीले बताए । उक्त सर्वेक्षणको प्रतिवेदन आउन बाँकी छ । नगरपालीका अन्तरगत सामाजिक तथा फोहोरमैला ब्यवस्थापन शाखाले फोहोर ब्यवस्थापन गर्दै आएको छ । हालै फोहोर संकलन र व्यवस्थापन गर्ने आधुनीक गार्भेज कमप्यास्टर मेसीन खदिर भैसकेको छ ।

प्राबिधिक प्रक्रिया पुरा गरेर नयाँ मेसीन प्रयोगमा ल्याउने तयारी भएको कार्यकारी अधिकृत सुवेदीले बताए । बेनीमा फोहोर संकलन गर्न नियमित ट्याक्टर नआएको बजारबासीले गुनासो गरेपछि बिहानैदेखि ट्याक्टर परिचालन गर्ने व्यवस्था मिलाइएको छ । फोहोर ब्यवस्थापनमा तिन जना कर्मचारी परिचालन हुने गरेका छन् । फोहोर ब्यवस्थापन गरेवापत नगरपालीकाले मासिक प्रतिघर पचास देखि दुई सय रुपैयाँ सम्म शूल्क लिने गरेको छ ।