प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ १ गते ।
म्याग्दीमा विविध कार्यक्रमहरुको आयोजना गरी बुद्धजयन्ती तथा लुम्बीनी दिवस–२०७३ मनाइने भएको छ । २५६०औं बुद्धजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइने तयारी गरिएको म्याग्दी बौद्ध संघले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
दिवसको बारेमा जानकारी दिँदै म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्यले यही जेठ ६ गते नेपाल छन्त्याल संघको संयोजनमा म्याग्दी अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल वितरण गरिने भएको छ । उनका अनुसार महिला बौद्ध संघको संयोजनमा जेठ ७ गते बुद्ध पुजा, ज्ञानमाला भजन तथा धर्मदेशना कार्यक्रम गरिने भएको छ भने ८ गते थकाली सेवा समितिको संयोजनमा शान्ति पदयात्रासहित कालीगण्डकी–म्याग्दी नदी सरसफाई गरी मूल कार्यक्रम सम्पन्न गरिने भएको छ ।
त्यस्तै सोही दिनको दिउँसो २ बजे तमु सेवा समाज तथा युवा बौद्ध संघको संयोजनमा रथयात्रा र साँझमा नेपाल मगर विद्यार्थी संघको संयोजनमा दिपावली गरी बुद्धजयन्ती मनाइने तयारी शुरु गरिएको म्याग्दी बौद्ध संघले जनाएको छ । दिवस समारोहका लागि ११ सदस्यीय मुल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरी आवश्यक तयारीलाई दिब्रता दिइएको अध्यक्ष शाक्यले बताए ।
जिल्लामा म्याग्दी बौद्ध संघ, युवा तथा महिला बौद्ध संघ क्रियाशिल रहेका छन्भने यिनै संघसँग छन्त्याल, मगर, र तमु समाज समेत आबद्ध रहेका छन् । कार्यक्रम अध्यक्ष शाक्यको अध्यक्षता र सचिव याम शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।