प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, जेठ १ गते ।
युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीले शनिबार बिरामीलाई फलफुल वितरण गरेर आफ्नो २६औं स्थापना दिवस मनाएको छ । ‘न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाइएको हो ।
अस्पतालमा उपचार गराइरहेका २८ जना बिरामीहरुलाई मौसम अनुकुल हुनेगरी विभिन्न किसिमका फलफुलहरु वितरण गरिएको युवा संघ म्याग्दीले जनाएको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सचिव बालकृष्ण सुवेदीले युवा संघले गरेको फलफुल वितरणलगायत रचनात्मक कार्यको प्रशंसा गरेका थिए ।
उनले देश कठिन परिस्थितिबाट अगाडि बढिरहेको बताउँदै राष्ट्रियता कमजोर भएको अवस्थामा युवाहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य देउप्रसाद छन्त्याल, पूर्व अञ्चल सदस्य खुमबहादुर बानियाँ, युवा संघ नेपालका सचिवालय सदस्य कृष्णकुमार विश्वकर्मा, अञ्चल अध्यक्ष नारायण जिसी र जिल्ला अस्पतालका वरिष्ठ मेडिकल सुपरीटेण्डेण्ट डाक्टर रोशन न्यापानेको सहभागीता रहेका थियो ।
कार्यक्रम युवा संघ म्याग्दीका उपाध्यक्ष बाबुराम चोखालको अध्यक्षता र सचिव हरि केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।