प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, जेठ १ गते ।
नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको शनिबार बेनीमा छैठौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्यले नेपालको हरेक क्रान्तिसँगै पत्रकारिता क्षेत्रको शुरुवात भएको बताएका छन् ।
उनले नेपालमा सोचेअनुसारको पत्रकारिता क्षेत्रको विकास हुन नसकेको भन्दै त्यसमा राजनीतिक नेतृत्व चुकेको आरोप लगाएका छन् । उनले पत्रकारिता पेशा जनउत्तरदायी पेशा भएको बताउँदै यसले सामाजिक परिवर्तन गराउनुपर्ने बताएका थिए ।
देशका हरेक कुनाकाप्चाका सूचना, सन्देशहरु सिंहदरबारसम्म पु¥याउने एकमात्र माध्यम पत्रकारिता भएको भन्दै उनले पत्रकारिता नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका थिए । सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्गको रुपमा रहेकाले सोहीअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमको अवसरमा नेपाल प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले पाँचलाख रुपैयाँको अक्षयकोष घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै उक्त कोषमा नेपाली काँग्रेसका महाधिवशेन प्रतिनिधि क्याप्टेन डमबहादुर पुनले एकलाख १ हजार १११ र नेपाल महिला संघका सभापति विमला गौचनले आफ्ना स्वर्गीय श्रीमान राम गौचनको स्मृतिमा १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रमेश पौडेल, धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम, नेपाली काँग्रेस म्याग्दीका सचिव हरिकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा, जिल्ला सदस्यद्वय माधवप्रसाद रेग्मी, केबी भण्डारी, लोकतान्त्रिक छापामाध्यमका उपाध्यक्ष ओम घायल, टे«ड युनियन काँग्रेसका अध्यक्ष दुर्गाराम सुवेदी र प्रेस युनियनका संस्थापक अध्यक्ष ध्रुवसागर शर्माले मन्तव्य राखेका थिए ।
यसैगरी प्रेस चौतारी म्याग्दी शाखाका सचिव प्रताप बानियाँ, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष कमल खत्री, नेपाल महिला संघका सभापति विमला गौचन, तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल र नेविसंघका अध्यक्ष भरत रकालले मन्तव्य राखेका थिए । कार्यक्रम प्रेस युनियनका सभापति छन्त्यालको अध्यक्षता, सचिव निर्मल खत्रीको सञ्चालन र सहसचिव रोजिना मल्लको स्वागतमा सम्पन्न भएको थियो ।