मृगौला पीडित बरुवालको उपचारमा सघाउन लुङ्दी जलजला सहकारीद्धारा एकलाख सहयोग

विकल्प न्यूज/जलजला
साउन २५ गते ।  पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको लुङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले मृगौला रोगका पीडितलाई एकलाख रुपैयाँ सहयोग गरेको छ । जलजला २ मल्लाज निवासी थलबहादुर बरुवालको उपचारमा सघाउने सहकारीले उक्त सहयोग गरेको हो ।

सहकारीको शेयर सदस्य समेत रहनुभएका बरुवाल लामो समयदेखि मृगौला रोगबाट ग्रसित हुनुहुन्छ । हाल ग्रान्डी अस्पताल काठमाण्डौमा उपचाररत हुनुभएका बरुवालको उपचारमा सहयोग पुगोस भनेर सहकारीका तर्फबाट २५ हजार र शेयर सदस्यहरुले संकलन गरेको ७५ हजार रुपैयाँ गरी एकलाख रुपैयाँ सहकारीका संस्थापक अध्यक्ष लेखनाथ रेग्मीले पीडितका भाई प्रेम बरुवाललाई हस्तान्तरण गर्नुभएको सहकारीका प्रबन्धक टेकनारायण आचार्यले जानकारी दिनुभयो ।

शेयर सदस्यलाई परेको समस्यामा संस्थाले केही रुपमा भएपनि सहयोग गर्नुपर्दछ भनेर उक्त सहयोग गरिएको उहाँले बताउनुभयो । सहकारीले यसभन्दा पहिला पनि शेयर सदस्यहरुलाई परेको आपतविपतमा आर्थिक सहयोग गर्र्दै आएको छ ।