विकल्प न्यूज\जलजला
असार ५ गते ।
पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका पहिरो पीडितलाई राहत लिएर जलजला क्रियटिभ ग्रुप गाउँ पुगेको छ । निरन्तरको वर्षाका कारण धाइरिङ किराखोरमा ३१ घरपरिवार विस्थापित भएका छन् ।
कोरोना नियन्त्रण,रोकथाम तथा व्यवस्थापनमा सक्रिय युवाहरुको समुह जलजला क्रियटिभ ग्रुपले बाढीपहिरो प्रभावितलाई राहत र व्यवस्थापनमा जुटेको छ । ग्रुपले शुक्रबार धाइरिङ पुगेर पहिरो पीडितलाई राहत वितरण गर्नुका साथै अस्थायी बसोबासका लागि टहरा निर्माण गरेको ग्रुपका संयोजक नविन जिसीले जानकारी दिनुभयो ।
जिसीको नेतृत्वमा राम खत्री,पूर्ण बरुवाल,कमल विक्रम शाही,सुवास जिसी,महेन्द्र आचार्य,कुशल जिसी,मनोहर आचार्य लगायतका युवाहरुले स्थानीयवासीहरुको सहकार्यमा दिनभर खटिएर पहिरो पीडितलाई टहरा निर्माण गरेका हुन ।
२० जना बस्न मिल्ने एउटा टहरा बनाइएको र ३१ घरलाई ३१ बोरा चाम,दाल ३ बोरा,नुन,तेल लगायत खाद्यन्न सामाग्री वितरण गरिएको संयोजक जिसीले बताउनुभयो । जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको उहाँले बताउनुभयो । आगमी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
किराखोरका स्थानीय युवा तथा पत्रकार साजन परियार सहितको युवाहरु टोली पनि गाउँमा वाढीपहिरो पीडितको व्यवस्थापन तथा उद्धारमा निरन्तर रुपमा खटेको छ ।
कोरोना रोकथाम तथा व्यवस्थापनमा जुटेको ग्रुप पछिल्ला केही दिनयता वर्षाका कारण प्रभावित भएकाहरुको व्यवस्थापन,उद्धार तथा राहत वितरणमा जुटेको छ ।