म्याग्दीमा पनि नसर्ने रोगका बिरामी बढ्दै

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २८ असोज ।
स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दी, कदम म्याग्दी र स्वास्थ्य सेवा स्रोत केन्द्र काठमाडौको आयोजनामा शुक्रबार बेनीमा स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।IMG_9219कार्यक्रममा स्वास्थ्य अधिकार र सरकारले प्रवाह गर्ने स्वास्थ्य सेवामा म्याग्दीका सर्वसाधारणको पहुँचको अवस्थाको विषयमा अन्तरक्रिया गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक भिम आचार्यले एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीका कुल जनसंख्याको ८७ प्रतिशतमा स्वास्थ्य सेवाको पहुँच पुगेको जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय बिलासी जिवनशैली, अस्वस्थ्यकर खानाका कारण नसर्ने रोगका बिरामी बढेको बताउनुभयो । गत वर्ष मुटु, मृगौला, क्यान्सर लगायत जटिल किसीमका स्वास्थ्य समस्या भएका ९६ जनालाई उपचार छुटका लागि सिफारीस गरिएको थियो ।

खुल्ला दिसामुक्त घोषणा गरिएपनि मानीसहरुको ब्यवहार र प्रदुषित पानीका कारण झाडापखालाको समस्या म्याग्दीको दश मुख्य स्वास्थ्य समस्या अन्तरगत पर्छ । सुरक्षित प्रसुती सेवामा पहुँच बढ्दै गएको देखिएको छ । बेनी अस्पताल र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र सहित २४ स्वास्थ्य संस्थामा वर्थीङ सेन्टर सञ्चालन भएको छ ।

भौगोलिक बिकटता र पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा कतीपय गाउँका महिलाहरु सुत्केरी हुन सहरी क्षेत्रका अस्पतालमा पुग्न बाध्य भएका छन् । गत आर्थिक वर्ष २०७३७४ मा ५४ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुती सेवा लिएका छन् । जिल्लामा गर्भपतनको दर बढेपनी परिवार नियोजनका अस्थाई र स्थाई साधनको प्रयोगको अवस्था निराशाजनक देखिएको छ ।

बिवाहीत दम्पत्ती मध्य ३९.२९ प्रतिशतले मात्र परिवार नियोजनका अस्थाई र स्थाई साधन प्रयोग गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका मध्य एक हजार २७४ जना मध्य १८.२ प्रतिशतले मात्र परिवार नियोजनका साधान प्रयोग गरेका छन् ।

गर्भपतन सेवाको दुरुपयोग बढ्दा प्रजनन् स्वास्थ्यमा जोखिम बढेको छ । जथाभावी गर्भपतन गराउँदा स्वास्थ्यमा देखिने असरको बारेमा जनचेतना जगाउनु आवश्यक देखिएको छ । सो कार्यक्रममा म्याग्दीमा पनी स्वास्थ्य अधिकार हनन्का घटनाको अभिलेखीकरण गर्न सुरु गरिएको जानकारी गराइएको थियो ।

देशभरका स्वास्थ्य अधिकार हनन्का घटनाको अभिलेखीकरण गरी प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र काठमाडौले बार्षिक रुपमा प्रकाशन गर्ने पुस्तकमा समावेश गरिने कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।