राहुघाट पहिरो अपडेट : गम्भिर घाइतेलाई पोखरा रिफर
ठाकुरप्रसाद आचार्य
म्याग्दी,भदौं २ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधस्थलमा पहिरो खस्दा घटनास्थलमा नै मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ । पहिरोमा परेर गम्भिर घाइते भएका तीनजनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा सोमबार दिउसो एक्कासी खसेको पहिरोमा ज्यान गुमाउनेमा बागलुङको तमानखोला गाउँपालिका–१ का २२ बर्षीय सुजन बुढामगर र चितवन घर भएका अन्दाजी ४६ बर्षीय लालबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।
सुख्खा पहिरोमा परेर घाइते भएका पाँचजना मध्य गम्भिर घाइते भएका भारतको गोपालगञ्जका वर्ष ५५ का धरम कुसहवा,भारतको विहार स्थायी ठेगाना भएका वर्ष ५५ का भैयाराम चौधरी र रोल्पा सुनछहरी गाउँपालिका ३ का वर्ष ३३ का चुमान पुनलाई थप उपचारका लागि पोखराको मनिपाल अस्पतालमा रिफर गरिएको प्रदेश अस्पताल बेनीले जानकारी दिएको छ ।
पहिरोमा परेर सामान्य घाइते भएका बारा जिल्ला निजगढ नगरपालिका ७ माझी टोल स्थायी ठेगना भएका वर्ष ४० का कुमार थापा मगर र सर्लाही जिल्ला बागमती नगरपालिका ५ राजघाटका वर्ष ३२ का गणेशबहादुर मगरको बेनीमा उपचार भइरहेको छ ।

काम गरिरहेको स्थानमा एक्कासी माथिको भिरबाट पहिरो खसेको सामान्य घाइते हुनुभएका थापामगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खाना खाएर हामी २० जना जति मजदुरहरु काममा खटिएका थियौं । काम थालेको १० मिनेट मै माथि भिरबाट सुख्खा पहिरो खस्यो । दुईजना साथीहरुको घटनास्थलमै मृत्यु भएको । मैले भागेर ज्यान जोगाए ।’’

पहिरो खसेर घाइते भएका मजदुरहरुलाई आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्का कर्मचारीले उद्दार गरेर अस्पताल ल्याएका थिए । दुर्घटनाको खबर लगत्तै घटनास्थलमा पिप्ले प्रहरी चौकीबाट प्रहरी टोली पनि पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा अहिले प्रहरी टोली थप जानकारी लिन घटनास्थलमा पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्