रावण पार्कमा पुग्न थाले पर्यटक
विकल्प न्यूज\बेनी
भदौं २२ गते ।

बेनी नगरपालिका– ५, स्थित धार्मिक पर्यटकीय स्थल पुलहाश्रममा निर्माण भएको रावण पार्कमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । बेनीको शिरमा रहेको पौराणिक स्थललाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्य सहित बेनी नगरपालिकाले यहाँ रावणको मूर्ति सहितको पार्क निर्माण गरेको छ । पार्क निर्माण अहिले अन्तिमचरणमा पुगेको छ । पछैंमा निर्माण गरिएको पार्क र पुलहाश्रमलाई प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघले यहाँ घुम्ती बैठक तथा पर्यटन प्रवर्धन कार्यक्रम समेत गरेको छ ।

पार्कमा ढलोट धातुको २७ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको, जनै राख्ने र सरसफाइ गर्ने बाहेक सबै काम सकिएको छ । पार्क निर्माण सम्पन्न नहुँदै अन्तरिक पर्यटकहरु रावण पार्कमा पुग्न थालेको बेनी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो । रावण पार्क यहाँका लागि नौलो पनि भएकाले होला बिदाका दिनमा बेनी लगायतका आसपासका क्षेत्रहरुबाट अवलोकनका लागि पर्यटकहरु आउन थालेका छन् ।
उहाँले भन्नुभयो, ‘‘पार्क निर्माण अन्तिम चरण पुगेको छ । पार्कमा निर्माण गरिएको रावणको मूर्तिको अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।’’ यहाँ सम्म आउने सडक सहज भए पर्यटक आगमन बढ्ने उहाँले आशा व्यक्त गर्नुभयो ।

उहाँका अनुसार चार रोपनी क्षेत्रफलमा निर्मित पार्कमा घेराबार, प्रवेशद्धार, पदमार्ग निर्माण, ढुङ्गा छपाउने, दुवो रोपेर संरचना तयार गरिएको छ । ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभि गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैंचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यान मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी सहित एककरोड ७० लाख रुपियाँमा आर्थिक वर्ष २०७६÷७७ देखि रावणको मूर्तिसहित पार्क निर्माण थालिएको थियो ।
पुलस्त्य पुलहाश्रम म्याग्दी सदरमुकाम बेनीदेखि पश्चिम–उत्तरमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरको उचाइमा छ । पौलस्त्य पुलहाश्रम पौराणिक ऋषि पुलत्स्यको तपोभूमि रहेको स्थानलाई पछै भनिन्छ । पुलस्त्य मन्दिरनजिक रावणको नाभि गाडिएको भन्ने ढुङ्गा (पत्थर) रहेको स्थानीयवासीहरुले बताउँछन् ।
रावण पार्क निर्माण स्थल पछैबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमश्रृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित पर्वत जिल्लाको जलजला गाउँपालिकाको रमणीय भू–भागहरुको अवलोकन गर्न सकिन्छ ।
यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको श्रीमद्भागवत् महापुराणको पञ्चमस्कन्ध आठौं अध्यायमा उल्लेख गरिएको छ । बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे, बाँसबोट, एकपाटे हुँदै पुरुण्डीसम्मको सडक कालोपत्रे भएको छ । पुरुण्डीबाट करिब दुई किलोमिटर कच्ची सडकको यात्रापछि रावण पार्क पुग्न सकिन्छ ।
गलेश्वरधामदेखि नजिक रहेको पुलस्त्य पुलह क्षेत्रमा भारतीय हिन्दु पर्यटकलाई आकर्षित गर्न सकेमा यहाँ वर्षेनी हजारौं पर्यटक भिœयाउन सकिने सम्भावना रहेकाले भविष्यमा पुलस्त्य र पुलह ऋषिको मूर्ति सहित ऋषि पार्क निर्माण गर्ने योजना रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
ऐतिहासिक तथा धार्मिक महत्वको पुलस्त्य पुलह क्षेत्रमा सहज रुपमा आवतजावतका लागि सडक विस्तार तथा स्तरोन्नति लगायत पूर्वाधार विकासमा नगरपालिकाले जोड दिएको नगरप्रमुख केसीले बताउनुभयो ।
पुलस्त्य पुलह क्षेत्रको विकास र समृद्धिका लागि पुलस्त्य पुलह क्षेत्र विकास कोषले करिब ३० करोड रुपियाँ लागत अनुमान गरिएको डिपिआर बनाएर पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका,प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको कोषका अध्यक्ष लीला बानियाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्