युवाहरुद्धारा पर्यटकीय स्थल लभ्लीहिलमा सरसफाई(भिडियोसहित)
ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन १७ गते ।

बेनी नगरपालिका २, मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय युवाहरुले सरसफाई गरेका छन् । पर्यटकहरुले फालेको फोहोरले लभ्लीहिल कुरुप बनेपछि शनिबार बिहान ५० जना युवाहरु मिलेर सरसफाई गरेका हुन । केही अघि विकल्प न्यूज फेसबुक पेजबाट लभ्लीहिलमा छरपस्ट रुपमा फालिएका मदिराका बोत्तलहरुको तस्बिर पोष्ट गरिएको थियो । विकल्प न्यूजले तस्बिर पोष्ट गरेपछि फोहोर गर्नेहरुको चर्को आलोचना समेत भएको थियो ।
लभ्लीहिलमा पुगेका पर्यटकहरुले प्लाष्टिकजन्य फोहोर,मदिराका बोत्तल,पानीका बोत्तल लगायत फोहोर यत्रतत्र फालेका कारण पर्यटकीय स्थल कुरुप बनेपछि खबराका युवाहरुले फोहोर संकलन गरी व्यवस्थापन गरेका हुन ।

घुमफिर र बेनीको सुन्दर दृश्यवलोकनका लागि लभ्लीहिलमा पुग्ने आन्तरिक पर्यटकहरुले फालेका प्लाष्टिकजन्य फोहोर,मदिराका बोत्तल,पानीका बोतल,कागज लगायत संकलन गरी व्यवस्थापन गरिएको खबरका युवा दिपक सापकोटाले बताउनुभयो । शुक्रबार साँझ खबरका केही युवाहरुले पनि फोहोर संकलन गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘लभ्लीहिलमा पुगेका पर्यटकहरुले जथाभावी रुपमा फोहोर फालेको पाइयो । मादक पदार्थ सेवन गरेर बोत्तलहरु छरपस्ट रुपमा फालेका कारण पर्यटकीय स्थलका बारेमा नकरात्मक सन्देश प्रवाह भएकाले स्थानीय युवाहरु मिलेर सरसफाई गरेका हौं । आगामी दिनमा सरसफाई अभियानलाई निरन्तरता दिई लभ्लीहिललाई चिटिक्क पार्ने छौं ।’’दुईघण्टा लगाएर लभ्लीहिल क्षेत्रमा रहेको सबै फोहोर संकलन गरिएको उहाँले बताउनुभयो ।
लभ्लीहिलमा साँझपख र विहानीको समयमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँबाट म्याग्दी र कालिगण्डकी नदीको दोभोनमा अवस्थित बेनी बजार,जलजलाको मल्लाज,धाइरिङ, म्याग्दीको राँखुपिप्ले,अर्थुङ्गे लगायतका वस्तीहरुको सु्न्दर दृश्य अवलोकन गर्न सकिन्छ । बर्षातका समय लभ्लीहिल हरियाली भएर सुन्दर देखिने गर्दछ ।

बेनी देखि नजिकमा रहेको शान्त र मनोरम स्थान भएकाले लभ्लीहिललाई थप पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि स्थानीय सरकारले योजना बनाई बजेट विनियोजन गर्नुपर्ने स्थानीयवासी ध्रुवराज कार्कीले बताउनुभयो ।

लभ्ली पुग्नका लागि बेनी देखि व्यवस्थित पदमार्ग समेत निर्माण गरिएको छ । पर्यटकको सुविधाका लागि यहाँ गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेञ्च राखिएको छ । विभिन्न फूलका विरुवा रोपेर लभ्लीहिललाई थप आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न आवश्यक रहेको स्थानीयवासी कार्कीले बताउनुभयो ।



प्रतिक्रिया राख्नुहोस्