म्याग्दीमा जिवित छन् मौलिक नृत्य र संस्कृति
ठाकुरप्रसाद आचार्य
म्याग्दी,कार्तिक २५ गते ।
म्याग्दी मौलिक कला र संस्कृतिले भरिपूर्ण जिल्ला हो । यहाँ विभिन्न जातजाति र समुदायका आ–आफ्नै मौलिक कला, संस्कृति र भेषभूषाहरु छन् । वर्षौ पुराना कला संस्कृतिहरु अहिले पनि जिवित छन् । पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरण भएको छ ।
जिल्लामा बसोबास गर्ने मगर,गुरुङ,छन्त्याल,नेवार,क्षेत्री र ब्राहमण समुदायका आ–आफ्नै पुराना मौलिक कला र संस्कृतिहरु छन् । मौलिक कला र संस्कृति म्याग्दीको पहिचान हो । बजार देखि ग्रामिण भेगमा बसोबास गर्ने विभिन्न जातजातिहरु आफ्नो संस्कृति संरक्षणमा जुटेका छन् । मौलिक कला संस्कृतिको संरक्षणका लागि उनीहरु संगठीत भएका छन् ।
मगर र छन्त्याल समुदायको पुख्र्यौली नृत्य,यानीमाया,कौडा,सुनिमाया,नेवारी समुदायको बर्खे नाच,हनुमान नाच,ताकमका ब्राहमण समुदायको राधाकृष्ण नाच,क्षेत्री समुदायको तरबार नाच,चिमखोलाबाट उत्पत्ती भएको थाली नाच र ब्राहमण समुदायको भजनकिर्तन म्याग्दीका मुख्य मौलिक कला संस्कृति भित्र पर्दछन् ।
संघीयता कार्यान्वयन सँगै गण्डकी प्रदेश सरकार मातहतको सामाजिक विकास कार्यालय म्याग्दीले मौलिक कला र संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेपछि प्रवद्र्धनमा थप टेवा मिलेको नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खमबहादुर थापाले बताउनुभयो । सामाजिक विकास कार्यालयले संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत पोसाक र विभिन्न बाद्यावादनका सामाग्री सहयोग गर्दै आएको छ । मौलिक कला संस्कृतिको संरक्षण,प्रवद्र्धन र संस्कृति पुस्तान्तरणका लागि सामाजिक विकास कार्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको कार्यालयका प्रमुख तारानाथ सुवेदीले बताउनुभयो ।
सामाजिक विकास कार्यालयको अलवा स्थानीय तह र जिल्ला स्थित विभिन्न संघसंस्थाहरुले समय समयमा मौलिक संस्कृतिका रुपमा रहेका विभिन्न नाचहरुको संरक्षण,प्रवद्र्धन,प्रोत्साहन र पुस्तान्तरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । यो आलेखमा जिल्लामा रहेका प्रमुख नृत्य र मौलिक संस्कृतिहरुको बारेमा चर्चा गरिएको छ ।
गुर्जामा जिवित छ छन्त्याल संस्कृति

मौलिक कला संस्कृति र जिवनशैली गुर्जाको पहिचान हो । करिब ७ सय वर्ष पहिला खानी उत्खनन्को खोजी गर्दै छन्त्यालहरु जुम्लाको सिंजाबाट गुर्जा आएको भनाई छ ।
गुजुमुज्ज परेका परम्परागत शैलीका घरहरुको वस्ती गुर्जा धवलागिरी गाउँपालिका १ को दुर्गम वस्ती हो । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित गुर्जा गाउँमा छन्त्याल जातिको ठूलो वस्ती छ । दुईसय ७० घरधुरी रहेको यहाँ एकसय ८५ घरधुरी छन्त्याल जातिको छ । गुर्जामा छन्त्याल जातिको मौलिक कलासंस्कृति अझै पनि जिवित छ । आधुनिक संस्कार र संस्कृतिले गुर्जालाई अझै छुन सकेको छैन । यहाँका छन्त्यालहरु आफ्नो कला संस्कृति संरक्षणमा जुटेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
छन्त्याल जातिको मुख्य संस्कृतिका रुपमा रहेको पुख्र्यौली नाच यहाँ अझै जिवित छ । पाका पुस्ताबाट युवायुवतीमा पुख्र्यौली नाच हस्तान्तरण भएको छ । यहाँको मौलिक संस्कृति संरक्षणमा युवा पुस्ता पनि जुटेका छन् । स्थानीय ८० वर्षीय हिनी छन्त्यालले भन्नुभयो, हामीले पुर्खाबाट सिकेको संस्कृति युवा पुस्तालाई पनि सिकाएका छौं । ‘‘आधुनिक सूचना र प्रविधिको विकासले हाम्रो मौलिक कला संस्कृति लोप हुन्छ की भन्ने चिन्ता मलाई छ,’’ छन्त्यालले भन्नुभयो,‘‘ संस्कृति लोप हुननदिन मैले छोरी, बुहारी र नातीनातीनीहरुलाई पनि सिकाएकी छु ।’’
गुर्जालीहरुको पुख्र्यौली अन्तर्गत परिवारको जेठो छोरा तिनवर्ष पुगेपछि खुसियालीमा पुर्पुरो नाच र चाढपर्वहरु दशैं तिहारमा ख्याली नाच देखाउने प्रचलन रहेको गुर्जा पुख्र्यौली नाच समुहका उपाध्यक्ष भिमबहादुर छन्त्यालले बताउनुभयो । समुह बनाएर पुख्र्यौली नाच संरक्षणमा जुटेको उहाँले बताउनुभयो ।
‘‘हाम्रो संस्कृति लोप हुननदिन युवा पुस्तालाई पनि सिकाउने गरेका छौं,’’ उपाध्यक्ष छन्त्यालले भन्नुभयो, ‘‘छन्त्याल जातिको मौलिक कला संस्कृतिलाई लोप हुनबाट बचाउन आफ्ना छोराछोरी र विवाह गरेर आउने बुहारीलाई पनि सिकाउने गरेका छौं ।’’
‘‘हाम्रो पुख्र्यौली संस्कृति लोप हुनबाट बचाउन हामी युवा पुस्ता पनि संरक्षणमा जुटेका छौं,’’ स्थानीय २२ वर्षीय सुस्मीता छन्त्यालले भन्नुभयो, ‘‘हाम्रो पुर्खाको संस्कृतिप्रति मलाई गर्ब छ । बुवा आमाबाट मैले पुख्र्यौली नाच सिकेकी छु । मौलिक कला संस्कृतिको संरक्षण गर्ने दायित्व हामी युवाहरुको काँधमा छ ।’’
अर्को २६ वर्षीय युवा रेशम छन्त्यालले पनि विगत एकवर्ष देखि पुख्र्यौली नाच नाच्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, मैले हाम्रा अग्रज कलाकारहरुबाट पुख्र्यौली नाच सिकेको छु । पुख्र्यौली नाचमा मादले २ जना,सिंगारु २ जना,जोगिया १ जना,गीत गाउने १ जना र आवश्यकता अनुसार गीत छोप्ने कलाकारहरु हुन्छन् । उनीहरु छन्त्याल जातिको भेषभूषामा सजिएर नाच्ने र गाउने गर्दछन् । गुर्जाका छन्त्यालहरुको परम्परागत संस्कति,मौलिकपन,रहनसह,भाषा र भेषभूषा अझै जिवित रहेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।
युवालाई पुख्र्यौली नाच सिकाउँदै पाका पुस्ता

मगर समुदायको परम्परागत पुख्र्यौली नाचको संरक्षण गर्न पाका पुस्ताले युवालाई सिकाउन थालेका छन् । जिल्लाका ग्रामिण भेगहरुमा पाका पुस्ताबाट नयाँ पुस्तामा पुख्र्यौली नाचको संरक्षण र पुस्तान्तरण गर्न पुख्र्यौली नाच समुह गठन गरेर युवा पुस्तालाई सिकाउन थालेका हुन ।
मगर समुदायमा सोरठी भाकामा नाचिने पुख्र्यौली नाच लोकप्रिय छ । हाम्रो मौलिक कला संस्कुतिका रुपमा रहेको मारुनी नाच युवाहरुलाई सिकाउन समुह गठन गरी तालिम र प्रशिक्षण दिने गरिएको पुख्र्यौली नाच समुह मालिका गाउँपालिका ५ जुग्जाका अध्यक्ष पतिराम शेरपुञ्जाले बताउनुभयो । समुहमा पाका र युवा गरी २८ जना आवद्ध भएको उहाँले बताउनुभयो । पहिचानका रुपमा रहेको मौलिक कला संस्कृति लोप हुननदिन आफूले युवा पुस्तालाई सिकाउन थालेको ७४ वर्षीय समुहका अध्यक्ष शेरपुञ्जाले उहाँले बताउनुभयो । युवाहरुले पनि चासो दिएर सिक्ने उहाँको भनाई छ ।
हाम्रो परम्परागत मौलिक संस्कृति नै लोप हुन लागेको छ पुख्र्यौली समुहका अध्यक्ष शेरपुञ्जाले भन्नुभयो, ‘‘नयाँ पुस्तालाई नसिकाउँदा परम्परागत रुपमा रहेको मौलिक कला संस्कृति लोप हुन लागेपछि युवाहरुलाई सिकाउन थालेका छौं । युवाहरुले पनि संस्कृति संरक्षणमा चासो दिन थालेका छन् ।’’
गाउँघरमा बुढापाकासँगै युवालाई राखेर पुख्र्यौली नाच देखाउन थालिएको उहाँले बताउनुभयो । आफ्नो संस्कृति संरक्षण गर्नुपर्दछ भनेर विगत दुई वर्ष देखि मारुनी नाच सिक्दै आएको ३२ वर्षीय रविन फगामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘महिलाको भेषमा सिंगारिएर मारुनी नाच्ने गरेको छु । सुरु सुरुमा अलि कठिन भयो अहिले राम्रो सँग नाच्ने भएको छु । पुर्खाले संरक्षण गरेर राखेको संस्कृति हामी युवाले पनि संरक्षण गर्नुपर्दछ भनेर समुहमा आवद्ध भएर गाउँका युवाहरुले सिक्न थालेका छौं ।’’
मगर समुदायमा जन्म, मृत्यु, बिवाह, छेवार र गाउँमा हुने बिषेश सभा समारोहमा परिवेश अनुसार पुख्र्यौली नाच देखाउने चलन रहेको छ । लामो भाका र स्वर निकालेर गाईने गीतको भावमा डुवेर भाङ्ग्रा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको दृष्य निकै रोचक हुन्छ । मादल बजाउँदै नाच्नेलाई मादले र महिलाको परिहन लगाएर नाच्नेलाई मारुनी वा सिंगारु भनिन्छ । मादलेसंगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषहरुले पुख्र्यौली नाचमा रौनकता थपिन्छ । पुख्र्यौली नाचमा सोरठी भाकामा गीत गाउने महिलाहरुको एक समूह हुन्छ ।
पुख्र्यौली नाचको संरक्षण गर्न प्रतियोगिता
मगर समुदायको मौलिक संस्कृतिका रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र पुस्तान्तरणका लागि स्थानीय तहहरुमा प्रतियोगिता पनि हुने गरेका छन् । जिल्लाको धवलागिरि गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले विगत दुईवर्ष देखि प्रतियोगिता नै संचालन गर्ने गरेका छन् ।

साथै बेनीमा आयोजना हुने म्याग्दी महोत्सवमा पनि पुख्र्यौली नृत्य प्रतियोगिताको आयोजना हुने गरेको छ । प्रतियोगिताले संस्कृतिको पुस्तान्तरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा पाका र नयाँ पुस्ताले सोरठी भाकामा मादले र मारुनी नाच प्रदर्शन गर्दछन् ।
मगर समुदायको मौलिक कला संस्कृतिका रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण,प्रवद्र्धन र युवा पुस्तामा संस्कृति पुस्तान्तरणमा टेवा पुगेको मगर संघ म्याग्दीका उपाध्यक्ष तथा युवा खमबहादुर थापाले बताउनुभयो । पछिल्लो समय युवा पुस्तामा मौलिक कला संस्कृति हराउँदै जानथालेकाले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्यमका रुपमा प्रतियोगिताले टेवा पुगेको उहाँको भनाई छ । प्रतियोगितामा नयाँ पुस्ताका १७ वर्षका देखि ७० वर्ष सम्मका पाका पुस्ताको सहभागिता हुन्छ । मगर समुदायको मौलिक कला र संस्कृतिको प्रवद्र्धन र युवा पुस्तामा संस्कृति हस्तान्तरणका लागि प्रतियोगिताले टेवा पुग्ने मालिका गाउँपालिका १ निस्कोटका २१ वर्षीय साजन पुनले बताउनुभयो ।
राधाकृष्ण नाच संरक्षणमा ताकमवासी
धवलागिरी गाउँपालिका–७ ताकमका युवामौलिक राधाकृष्ण नाच संरक्षणमा जुटेका छन् । ताकम धार्मिक नाट्य समूहले लोप हुन लागेको राधाकृष्ण नृत्यको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गरेका हुन् । राधाकृष्ण नाचका कलाकार गोपाल आचार्यले नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षणको प्रयास भएको बताउनुभयो ।

गाउँपालिका र बेनीमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रम र महोत्सवहरुमा ताकमको राधाकृष्ण नाच देखाउने प्रचलन छ ।
ताकममा मानव वस्तिरहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन छ । कलाकारहरू वृद्ध भएका र केहीको निधन भएपछि राधाकृष्ण नाच संकटमा परेको थियो । ताकम र धवलागिरी गाउँपालिकाका साथै जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, मेला महोत्सवमा प्रर्दशन हुन थालेको छ । यो नाच म्याग्दीको ताकममा मात्र नाच्ने गरिन्छ ।
राधाकृष्ण नाचका लागि समूहले गितको रचना गरेका छन् । यो नाचका लागि हिन्दुधर्मवलम्बिहरूको भगवान शिव, पार्वति, उनिहरूका छोरा गणेश, राधा र कृष्ण अनी लाखे पात्र हुन्छन् । परापूर्वकालमा देवीदेवता र भगवानको माया प्रेम, जिवनमा आइपर्ने सुःख र दुःखका क्षणलाई गित मार्फत व्यक्त गरेर नाचमा अभिनय गरिन्छ । सबै कलाकार पुरुष हुन्छन् । पार्वति र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् ।
२५ मिनेट देखि ४५ मिनेटसम्म यो नाच प्रस्तुत गरिन्छ । राधाकृष्ण नाचका लागि छ जना, बाद्यबाधन र गायनका लागि थप सात जना कलाकार आवश्यक पर्छ । ताकमका अधिकांश समुदाय जुम्लाबाट बसाईसरेर आएका हुन् । उनिहरूलेनै यो नाच भिœयाएको बुढापाका बताउँछन् ।
अहिलेको जस्तो सूचना प्रबिधिको बिकास नभएको अवस्थामा समाजमा मनोरञ्जनका लागि चाडपर्व र मेलामा राधाकृष्ण नाच देखाउने गरिएको थियो । बिशेष सभा समारोह र मेला महोत्सवमा पनि ताकमको राधाकृष्ण नृत्य आकर्षण बन्न थालेको छ । कलाकारहरूका लागि पोषाक र बाद्यबाधनका सामग्रीको आवश्यकता छ ।
म्याग्दीलाई देश विदेशमा चिनाउने थाली नाच
करिब सात दशक अघि म्याग्दीको रघुगंगा गाउँपालिका, ७ चिमखोलाबाट सुरुवात भएको थाली नाच अहिले देश तथा विदेशमा लोकप्रिय बनेको छ । थाली नाचले मगर समुदायको मौलिक कला संस्कृतिका रुपमा पहिचान बनाएको छ ।

थाली नाचले चिमखोलाको मात्र नभएर देशलाई नै विदेश सम्म चिनाउने काम गरेको छ । पेशा, रोजगारी र व्यवसायका क्रममा संसारभर पुगेका नेपालीहरु माझ पनि थाली नाच उत्तिकै लोकप्रिय छ । चिमखोलावासी स्वर्गीय थमन पुनले बि.स २००८ सालमा थाली नाचको सुरुवात गर्नुभएको थियो । उहाँले सुरुवात गरेको यो नाचलाई चिमखोलाकै हिरामाया पुन श्रीसले थाली नाचको प्रवद्र्धन र देशभर पु¥याउने काम गर्नुभयो ।
मगर समुदायको मौलिक पोसाक रातो चोली,कम्मरमा पहेँलो पटुकी,गलामा पहेँलो पोते,सेतो भाङ्ग्रा र छिटको गुन्यु सहित चिटिक्क सजिएका कलाकारहरु गीतको लय र शब्द सँगै हातमा थाली राखेर नाच्दा निकै रोचक देखिन्छ । बेनीमा आयोजना हुने विभिन्न सभा समारोह,मेला पर्व र महोत्सवहरुमा थाली नाच देखाउने गरिन्छ । थाली नाच विदेशमा समेत देखाउन थालिएको छ । थाली नाचले म्याग्दीलाई स्वदेश तथा विदेशमा चिनाएको छ । थाली नाचलाई मगर समुदायले मौलिक कला संस्कृतिका रुपमा लिँदै संस्कृति पुस्तान्तरणका लागि तालिम र प्रशिक्षण दिएर नयाँ कलाकारहरु उत्पादन गर्दै आएको नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष खमबहादुर थापा मगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला थाली नाचको उद्गम थलो हो । थाली नाच अहिले विश्वभर रहेका नेपालीहरु माँझ लोकप्रिय बनेको छ । थाली नाचले म्याग्दीलाई स्वदेश तथा विदेशमा चिनाएको छ । यसको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्तालाई सिकाइरहेका छौं ।’’ बेनीमा आयोजना हुने मेलापर्व,महोत्सव लगायत विशिष्ट कार्यक्रमहरुमा मगर समुदायका महिलाहरुले थाली नृत्य प्रस्तुत गर्ने प्रचलन बढेको छ । थाली नृत्यप्रति पछिल्लो समय नयाँ पुस्तामा पनि आकर्षण बढेको मगर संघका उपाध्यक्ष थापाले बताउनुभयो । थाली नाचका कारण चिमखोला गाउँ देश विदेशमा चिनिन पुगेको वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो ।
बेनीमा बर्खे नाचको संरक्षणमा युवा
बेनीका युवाहरुको सक्रियतामा बर्खे नाचको संरक्षण गरिएको छ । नेवार समुदायको मौलिक संस्कृतिका रुपमा रहेको बर्खे नाच अन्तर्गतका विभिन्न नाचहरुको संरक्षण र प्रवद्र्धनका लागि युवा पुस्ता जुटेका छन् । युवाहरुको अगुवाईमा बेनीमा प्रत्येक वर्ष बर्खे नाच देखाउने प्रचलन छ । नेपाल भाषा मंकाःखलः ले संस्कृतिको पुस्तान्तरणका लागि तालिम तथा प्रशिक्षण दिन थालेको छ ।

नवार समुदायको बर्खे नाच अन्तर्गत पर्ने परम्परागत लाखे नाच नागपञ्चमीका दिन देखि हरितालिका तिज सम्म देखाउने गरिन्छ ।
लाखे नाचलाई नेवार समुदायको मौलिक कला संस्कृतिका रुपमा लिने गरिन्छ । लाखे नाच नाच्ने कला र सीप पाका पुस्ताबाट युवाहरुले सिकेका छन् । विगत पाँचवर्ष देखि यता मौलिक कला संस्कृतिका रुपमा रहेको लाखे नाच युवाहरुको सक्रियताका कारण प्रदर्शन हुँदै आएको छ ।
नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको सक्रियतामा लाखे नाचका साथै घोडा नाच,सापरु,नागानागिनी नाच,गाइजात्रा,श्रीकृष्ण रथयात्रा र जोगी नाच एकमहिनाको अवधिसम्म प्रदर्शन गरिने अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । भक्तपुर र साँखु लगायत विभिन्न स्थानबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति पनि भित्रिएको अगुवाहरु बताउँछन् । पुरानो मौलिक कला संस्कृतिप्रति नयाँ पुस्ताले चासो देखाउन थालेको नेवार समुदायका युवा तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
पुरानो खम्पर (मुखौटो) लगाएर ठूलो मृदंगा,मादल,झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । नेवार समुदायको कलासंस्कृतिलाई पुस्तान्तरणका लागि युवापंक्तिलाई तालिमको व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो । लाखे नाच्नेमा युवा देखि बालकलार सम्मको सहभागिता हुने गर्दछ ।
हनुमान नाच पुस्तान्तरण

बेनीका नेवार समुदायले देखाउने हनुमान नाच एक मौलिक नाच हो । वर्षौ पुरानो यो नाच यहाँका नेवार समुदायले संरक्षण र पुस्तान्तरण गर्दै आएका छन् । बेनीमा आयोजना हुने मेला महोत्सवहरुमा हनुमान नाच देखाउने गरिन्छ ।
झ्याली र मृदङ्गाको तालमा हनुमानको भेष पहिरेर नाच्ने गरिन्छ । ९ जोडी कलाकारहरुले जामा लगाएर खुट्टामा छमछम बज्ने चाप, सिमलीको पुछार, हातमा लौरो समातेर एकआपसमा संगीतको तालमा लौरो जुझाउदै नाच्ने गरिन्छ । हनुमान नाचका घुमाउने ताल,बाह्ताल,चौविस ताल र सलामी गरी चार ताल हुन्छन् । नेपाल भाषा मंकाः खलले नयाँ पुस्तालाई तालिम र प्रशिक्षण दिएर हनुमान नाचको पुस्तान्तरण गरेको छ । हनुमान नाच नेवारी समुदायको करिब तिनसय वर्ष पुरानो भएको भनाई छ । २०३१ सालमा बागलुङबाट बेनीमा बसाईसराई गरेर आउने क्रममा स्वः राजकुमार श्रेष्ठ,खड्कबहादुर श्रेष्ठ र रामबहादुर श्रेष्ठले हनुमान नाच ल्याएको नेपाल भाषा मंकाःखलका पूर्व अध्यक्ष राजेन्द श्रेष्ठले बताउनुभयो ।
२०५७ साल भदौमा बेनीको माई भगवती मन्दिर निर्माण गर्न आर्थिक संकलनको लागि हनुमान नाच देखाइएको थियो । त्यस यता कलाकारहरुको अभाब र नृत्य पुस्तान्तरण नहुँदा हराएर जाने अवस्थामा पुगेको नाचलाई मंका खलले पुर्नजागरण गराएको मंकाःखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।
हनुमानको भेष पहिरेर नाच्ने यो नाचको अफ्नै विशेषता रहेको छ । नेवार समुदायमा आर्थिक संकलनका लागि हनुमान नाच प्रदर्शन गर्ने प्रचलन पुरानो भएको नेवार समुदायका अग्रजहरु बताउँछन् । हनुमान नाचमा कलाकार, बाद्यवादक, पुजारी, मुख्य (प्रधान केजी) व्यवस्थापक आदि गरी झण्डै ८० देखि १०० जनाको समूहको आवश्यक पर्दछ । पुजा विधि गरेर हनुमान नाच देखाउने प्रचलन छ ।
हनुमान नाच र यसको पुजा विधि आफ्नै किसिमको रहेको छ । पूजा गर्ने दिनमा कलाकारदेखि लिएर वाद्यवादकको व्यवस्थापक समितिका पदाधिकारीहरु नित्य चोखो हुनुपर्ने नियम रहेको छ । हनुमान नाचको विशेषता भनेको संगीतको तालमा लठ्ठी (लौरो) जुझाउने र पुजा गर्दा हनुमान उत्रने (काप्ने) लाई विशेष मानिन्छ ।
हनुमान नाच थालनी गरेपछि प्रत्येक टोलटोलमा पुजा दिने प्रचलन भएको हुँदा यो नाच लामो समयसम्म चल्छ र अन्तमा नाच समापन गर्दा मन्दिरबाट पुजा दिई नाच समापन गरिन्छ । हनुमान नाच नचाउँदा बढी दुःख र कष्ट हुने हुँदा आलोपालो दिन धेरै कलाकारको आवश्यकता पर्दछ ।
प्रतिक्रिया राख्नुहोस्