म्याग्दीमा एकहजार ९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा
ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन १५ गते ।

म्याग्दीमा एकहजार ९ सय ६९ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । पुरना नहर मर्मत र नयाँ सिँचाइ योजना संचालनमा आएपछि उक्त खेतीयोग्य जमिनमा बाह्ै महिना सिँचाइ सुविधा विस्तार भएको हो । सिँचाइ सुविधा विस्तार भएसँगै कृषि उपज उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । सिँचाइ सुविधा भएपछि किसानले समयमा धान रोपाइँ गरेका छन् ।
सिँचाइ सुविधाको विस्तार पछि किसानलाई खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हट्नुका साथै कृषि उपजको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गएको आर्थिक वर्षमा सञ्चालन गरेका सिँचाइ आयोजनाहरुबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा सिँचाई सुविधा विस्तार र नहर स्तरोन्नतिबाट १० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको हो ।

कार्यालयले गएको आर्थिक वर्षमा संचालन गरेका विभिन्न सिँचाइका योजनाहरुबाट छ किलोमिटर पक्की नहर, छ दशमलब ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण गरेको कार्यालयका प्रमुख झलकमोहन ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिँचाइ तर्फ २२ वटा योजनाका लागि गएको आर्थिक वर्षमा चार करोड ८३ लाख ४० हजार रुपियाँ बजेट बिनियोजन भएकोमा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिँचाइमा बिनियोजन भएको मध्य ९१ दशमलब ३१ प्रतिशत तथा चार करोड ४१ लाख ४० हजार रुपियाँ खर्च भएको छ ।
मंगला गाउँपालिका–२ स्थित घोरेनी–कोत्रवाङ–सिम सिँचाई आयोजनाको नहर निर्माण गरि १२ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा विस्तार गरिएको छ । वि.स. २०६७ मा सिम–कुहुँ सडक निर्माणका क्रममा पुरिएको कुलोलाई कार्यालयको पहलमा बजेट सुनिश्चिता गरी १५ वर्षपछि नहर पुनः निर्माण गरिएको हो ।

उक्त योजनाका लागि एक करोड ३२ लाख रुपियाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि २०८१ जेठ २५ गते ९० लाख ४५ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । एक हजार सात सय मिटर पक्की नहर तथा शाखा नहरहरु निर्माण गरेपछि किसानलाई सिँचाइ गर्न सहज भएको छ ।

मंगला गाउँपालिका वडा नम्वर ३ वरंजाको झ्याम्टेखोला मैरनी साझदह सिँचाइ योजना अन्तरर्गत पहिलो चरणमा ४० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पाँचसय ५० मिटर पक्की नहर निर्माण भएको योजना गएको वर्ष सम्पन्न भएसँगै किसानले असार महिनामै रोपेका छन् । यस आयोजनाले १८ हेक्टर जमिनमा सिँचाइ विस्तारको कार्यालयले जनाएको छ ।
यसैगरी मालिका गाउँपालिका–७ बिममा बेल्फि–लुुरवाङ सिँचाइ आयोजना अन्तर्गत गलघण्टीको अप्ठ्यारो भिरमा पक्की नहर निर्माण भएको छ । पक्की नहर निर्माण भएपछि बेल्फिको मुहानबाट लुुरवाङको फाँटमा सिँचाइका लागि हरेक बर्ष पाइप फेर्नुपर्ने झञ्झट हटेको छ ।

बेनी नगरपालिका–१ मा बषौँदेखि रोकिएको १९२५ साले सिँचाइ योजनालाई कार्यालयले गएको वर्ष १२५ मिटर कुलो, १६८ मिटर पाईपलाईन विस्तार गरेको छ । पहिरो चल्ने ठाउँमा पाईप जडान गरि नहरमा पानी संचालन गरिएपछि किसानलाई सिँचाइका लागि सहज भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार हाल सम्म जिल्लामा करिब ८५ प्रतिशत जमिनमा धान रोपाई भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्