दुई युवा दुइदिन देखि बेपत्ता
विकल्प न्यूज\बेनी
भदौं १६ गते ।

बेनीका दुई युवा दुईदिन देखि बेपत्ता भएका छन् । शनिबार राती बेनी बजारबाट उनीहरु बेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार रघुगंगा गाउँपालिका, २ भगवती घर भै हाल शिक्षा विकास तथा समन्वय इकाइमा कार्यरत कुमार रिजाल र बेनी नगरपालिका, ६ अर्थुङ्गे घर भै बेनीको एक निजी ब्यापारिक फर्ममा कार्यरत हरी रिजाल शनिवार रातीदेखी सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ ।

शनिवार राती करिव ११ बजे बेनीको नेपाल वैंक पछाडीको एउटा होटलबाट निक्लेर रिजाल दाजुभाई मोटरसाईकल चढेर लिला स्टोर्स छेउहुँदै वालमन्दिरबाट मोटरसाईकल तल दोविल्ला देखि रिङरोड हुँदै कालीपुल तर्फ गएको बजारका विभिन्न स्थानमा जडित सिसी क्यामेराका फुटेजमा देखिएको तर सो मोटरसाईकल कालीपुलको सिसी क्यामेराको रेकर्डमा भने नदेखिएको प्रहरीले जनाएको छ । कालिपुलको सिसी क्यामेरामा नदेखिएपछि मोटरसाइकल कालिगण्डकीमा खसेको हुनसक्ने प्रहरीको आशंका छ ।
आईतवार दिनभर प्रहरी कार्यालयमा रहेका र बजारका विभन्नि ब्यक्ति तथा फर्ममा जाडित निजी सिसी क्यामेरा रेकर्डमा रिजालद्वयको खोजी भएको थियो । सोमबार भने रिजाल परिवारका आफन्तसहित शसस्त्र प्रहरी र नेपाल प्रहरीका खोज तथा उद्धारकर्ताहरुले दिनभर बेनीदेखी तल खनियाघाट छेउसम्म कालीगण्डकी वारीपारी किनारामा खोजी गरेको तर केही फेला नपरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय रिङरोड चर्चामा छ । यसलाई बेनीबासीले भाइरल रोड भनेर पनि भन्ने गरेका छन् । तिव्रगतिमा सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि बढेको छ । साँझपख रिङरोडमा घुमफिरका लागि स्थानीयहरुको निकै भिड पनि लाग्ने गरेको छ । रोड छेउछाउमा बसेर व्यवसाय गर्नेहरु पनि बढेका छन् । रोडमा लाइटिङ जडान र सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्नुपर्ने बजारबासीको माग रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्