गलेश्वर शिवालयमा दिब्य आरती पूजा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य
म्याग्दी बेनी,साउन १९ गते ।

म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा विशेष दिव्य आरती पूजा गरिएको छ । साउन महिनाको सोमबार आज तातोपानी कुण्ड व्यवस्थापन र गलेश्वर शिवालय क्षेत्र विकासको आयोजनामा विशेष दिब्य आरती पूजा गरिएको हो ।

गलेश्वर शिवालयको दर्शन गर्न आउने भक्तजनहरुलाई लक्षित गरेर प्रत्येक सोमबार दिब्य आरती पूजाको आयोजना गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार साउन महिनाभर दिब्य आरती पूजा हुने छ ।

बिहान देखि नै भजनकिर्तन र पूजाआराधना सहित आरती पूजा गर्ने गरिएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । आरती पूजाका समयमा गलेश्वरमा भक्तजनहरुको निकै भिड लाग्ने गरेको छ । संगीतसहित दिब्य आरती पूजा एक घण्टा सम्म चलेको थियो ।

साउन महिनाको तेस्रो सोमबार आज गलेश्वर शिवालयमा करिब २० हजार भक्तजनहरुले पूजाआराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार गलेश्वरमा विहानै देखि भक्तजनहरुको निकै भिड लागेको थियो ।

पूजालाई व्यवस्थित बनाउन गलेश्वर शिवालयले कोषका पदाधिकारी,सदस्य,स्वयमसेवक र सुरक्षाकर्मीहरु पनि परिचालन गरिएको कोषले जनाएको छ ।

साउन महिनामा शिवालय मन्दिरमा गंगाजल र बेलपत्रले पूजा गरेमा भगवान शिव खुसी भई मनोकांक्षा पुरा हुने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ ।

पछिल्लो समय गलेश्वरका बारेमा प्रचारप्रसार भएकाले मुक्तिनाथ प्रवेशद्धारका रूपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजनहरू पनि उल्लेख्य मात्रामा आउने कोषले जनाएको छ ।

कालीगण्डकी र राहुघाट नदीको किनारमा ९ रोपनी क्षेत्रफलको विशालचक्रशीलमा माथि फैलिएको गलेश्वर शिवालय मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई व्यवस्थित रूपमा पूजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समूह, लगायतले स्वयंसेवकको भूमिका निर्वाह गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।



प्रतिक्रिया राख्नुहोस्