ताजा समाचार:
Search

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

विकल्प न्यूज । बेनी
माघ २२ गते ।

भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो ।

गण्डकी प्रदेश सरकारले मधेश र मधेस प्रदेशले संघीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध गराएको शिला निकालिएको ठाउँमा उद्यान बनाउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख ज्योति लामिछानेले देवशिला निकालिएको ठाउँको संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न स्मारकसहितको उद्यान बनाउन लागिएको जानकारी दिए।

‘मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई लक्षित गरेर देवशिला उत्खननस्थलको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ”, उनले भने, ‘आर्थिक स्रोतको खोजी र पूर्वाधारको सम्भाव्यता अध्ययनमा जुटेका छौँ ।’​ देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । देवशिला लगिएपछि भारतबाट आएका तीर्थयात्रीले स्नान र अवलोकन गर्न थालेका छन् ।

हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरूपको मूर्ति निर्माण गर्न शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिला लगिएको छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ तथा तीन दशमलव पाँच फिट मोटाइका दुई शिला उपहार दिइएको हो ।

नगर प्रमुख सुरत केसीले देवशिला लिन आएका रामलीला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज लगायतले स्मारक र उद्यान निर्माणमा सघाउने प्रतिबद्धता जनाएका बताए।  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर आर्थिक स्रोत जुटाउन प्रस्ताव गरिने उनले बताए।

स्मारक र उद्यानका साथै कालीगण्डकी नदीमा स्नान स्थल बनाउने योजना छ । कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेले देवशिला उत्खननस्थल नजिकै फोहर फाल्ने ठाउँ स्थानान्तरण गर्नुपर्ने बताए।

देवशिला अयोध्या लैजान समन्वय गरेका पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले यो क्षेत्रको धार्मिक पूर्वाधार निर्माणमा सघाउन रामलीला मन्दिर निर्माण समिति र भारत सरकारले प्रतिबद्धता जनाएको बताए।