सुरक्षा व्यवस्था नहुँदा राममन्दिरमा चोरीका घटना बढे

विकल्प न्यूज/बेनी
साउन १९ गते ।


गलेश्वर स्थित राममन्दिरमा चोरको बिगविगी बढेको छ । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ स्थित गलेश्वर पारिपट्टी पर्ने राममन्दिरमा सुरक्षाको व्यवस्था नहुँदा चोरको बिगविगी बढेको हो । म्याग्दीको सुरक्षा निकायले पर्वतको भू–भाग भन्दै पन्छिने र पर्वत बेनीमा रहेको प्रहरी चौकी देखि भौगोलिक रुपमा टाढा रहेका कारण मन्दिर असुरक्षित भएको हो । मन्दिर सुरक्षाको भरपर्दो व्यवस्था मिलाइदिन मन्दिरका साधुमहन्तले माग गरेका छन् ।

सुरक्षाको व्यवस्था नहुँदा वर्षेनी मन्दिरमा चोरीका घटनाहरु बढेका छन् । मन्दिर परिसरमा पसेर दानपेटिका खोली पैसा लैजाने,साधुमहन्तका सामानहरु लैजाने गतिविधि बढेको मन्दिरका संरक्षक केशवदास ब्रहमचारीले बताउनुभयो । गलेश्वरमा सुरक्षा निकाय छ तर हामीलाई सुरक्षा छैन उहाँले भन्नुभयो ‘म्याग्दीको प्रहरीलाई यहाँको सुरक्षाको चासो नहुँदो रहेछ । पर्वत बेनीमा रहेको प्रहरी चौकी टाढा छ । दुईतिनवर्ष देखि यता चोरीका घटनाहरु घटेका छन् ।’ साँभपख अवान्छीत गतिविधि गर्ने खालका केही व्यक्तिहरु मन्दिर परिसरमा प्रवेश गर्ने गरेको उहाँले बताउनुभयो ।

‘अघिल्लो वर्ष मन्दिरमा चोर पसेर दानपेटीमा रहेको पैसा,लत्ताकपडा लगायत सामानहरु चोरी भए सुरक्षाको माग गरियो कहिकतैबाट सुनुवाइ भएन, मन्दिरका संरक्षक ब्रहमचारीले भन्नुभयो ‘अहिलेसम्म नगद र सामान गरेर डेढदुईलाखजति चोरी भइसकेको छ ।’ मन्दिर परिसर खुला भएकाले पनि चोरीका घटनामा वृद्धि भएको उहाँले बताउनुभयो । मन्दिर परिसरलाई तारवार गरेर घेराबन्दी गरेमा केही सुरक्षित महशुष हुने उहाँले बताउनुभयो ।

मुक्तिनाथ जाने धार्मिक पर्यटकहरु मन्दिर दर्शनका लागि आउने र कहिले काही वासपनि बस्ने भएकाले सुरक्षाको वन्दोवस्त हुनुपर्ने उहाँले बताउनुभयो । चोरीका घटनाहरु बढ्न थालेपछि प्रहरीमा यसवारेमा जानकारी गराएको भएपनि सुनुवाई नभएको उहाँले गुनासो पोख्नुभयो ।

कहिलेकाही प्रहरीबाट रातीको समयमा गस्ती गर्ने व्यवस्था मिलाइदिए हामीलाई सुरक्षित महशुष हुनेथियो उहाँले भन्नुभयो ‘मन्दिरको सुरक्षाका लागि सवैको ध्यान पुगोस् ।’ गाउँपालिकाले मन्दिर परिसरलाई घेराबार गर्ने व्यवस्था मिलाइदिए राम्रो हुने उहाँको भनाई छ ।