ताजा समाचार:
Search

दोबावासीको घरघरमा स्वच्छ खानेपानीको सुविधा

विकल्प न्यूज/बेनी
असार १५ गते ।


जिल्लाको अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयवासीहरु खुसी भएका छन् । बर्षौ देखि सफा र स्वच्छ खानेपानीबाट बञ्चित भएका दोबावासी घरघरमा धारा जडान भई पानी आउन थालेपछि खुसी भएका हुन ।
खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु गरेको थियो । गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको ४ करोड ८९ लाख ६९ हजार ४ सय ६९ रुपियाँ लागतमा योजना सुरु गरिएको कार्यालयका इन्जिनियर राजेश उलकले बताउनुभयो । उहाँका अनुसार योजनामा स्थानीयवासीले २० प्रतिशत श्रमदान जुटाएका छन् ।

दोबाका सवै घरधुरीमा एक घर एक धारा खानेपानी पु¥याउने लक्ष्यका साथ चारवटा वस्तीमा एकैसाथ चारवटा स्किममा योजना संचालन गरिएको उहाँले बताउनुभयो । योजनामा ५० हजार देखि ७० हजार लिटर क्षमताका ३ वटा ट्याङ्की र २० देखि ३० हजार लिटर क्षमताका ३ वटा गरी ६ वटा ट्याङ्की निर्माण भएका छन् । दोबा खानेपानी योजना अव अन्तिम चरणमा पुगेको छ कार्यालयका इन्जिनियर उलकले भन्नुभयो ‘अवको दुईचार महिना भित्र योजना सम्पूर्ण रुपमा सम्पन्न हुन्छ ।’


सुनारी र बगरका वस्तीमा मुख्य पाइपलाइन,ट्याङ्की,धारा जडान सम्पन्न भई सहायक पाइपलाइन विस्तार र मिटर जडान गर्ने काम वाँकी रहेको र आगमी आर्थिक वर्षको सुरुवातमै सो काम सम्पन्न भई धारामा पानी संचालन गरिने इन्जिनियर उलकले बताउनुभयो ।

दोबाको मुख्य गाउँमा गत वर्ष दुई सय एक घरधुरीमा धारा जडान गरी पानी संचालन गरिसकिएको छ । चालु आर्थिक वर्षमा मरकाका एकसय ६७ घरधुरीमा पानी खसालिएको छ । यसैगरी सुनारीको वस्तीका ४१ र बगरका ३४ घरधुरीमा खापानीका धारा जडान भइसकेको र पानी संचालन गर्न वाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष डमबहादुर पुर्जाले बताउनुभयो ।

लामोसमय देखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीहरु घरमै पानीको धारा आएपछि खसियाली छाएको स्थानीयवासी कुलप्रसाद पुर्जाले बताउनुभयो । गाउँमा खानेपानीको निकै समस्या थियो पुर्जाले भन्नुभयो ‘वषौं देखि खोलाको पानी खानुपर्ने बाध्यता थियो, योजना सम्पन्न भएपछि पिउने पानीको समस्या हटेको छ ।’

‘दोबाका करिब ४ सय भन्दा धेरै घरधुरीलाई एक गाग्री पानीका लागि दैनिक घण्टौँसम्म समय खेर फाल्नुपर्ने बाध्यता थियो ।’ १५ /२० घरधुरीको माझमा एउटा धारा मात्र थियो वडा अध्यक्ष पुर्जाले भन्नुभयो, ‘अहिले घरको आँगानमै स्वच्छ पिउने पानी आएपछि गाउँलेहरुमा खुसी छाएको छ ।’

घरको आँगनमै पानीको धारा आएपछि खानेपानीको समस्या हटेको स्थानीयवासी टेकबहादुर पुनले बताउनुभयो । घरको आँगनमा बनाइएको धारामा पानी खस्दा खुसीको सिमा छैन पुनले भन्नुभयो ‘घरमै एकगाग्री पानी लिन टाढा पुग्नुपर्ने बाध्यता हटेको छ । घरकै आगनमा धारा बनेको छ । आफूखुसी पानी प्रयोग गर्न पाएका छौं ।’

योजना सम्पन्न भई घरको धरामा पानी आउन थालेपछि पिउने पानी लिन घण्टौं पैदल हिडेर टाढा पुग्नुपर्ने बाध्यता हटेको स्थानीयवासी इच्छा पुनले बताउनुभयो । अहिले समयको पनि बचत भएको छ, बिहान घरधन्दा गरेर मेलापात गर्न पनि सजिलो हुन थालेको उहाँले बताउनुभयो ।