ताजा समाचार:
Search

धवलागिरीका जनप्रतिनिधिको पहिलो प्राथमिकता स्वास्थ्य र सडक

विकल्प न्यूज/बेनी
जेठ १० गते ।


धवलागिरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सडक र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका छन् । सपथग्रहण र पदवाहली कार्यक्रममा उनीहरुले पालिका भित्र रहेका दुर्गम वस्तीमा सडक सञ्जाल पु¥याउने र विकट भेगमा स्वास्थ्य इकाई मार्फत पालिका वासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो निर्णय गरेका हुन ।

औपचारिक रुपमा सोमबारदेखि पदवाहली गर्नुभएका गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनबाट उपाध्यक्ष रेशम पुन, वडा अध्यक्ष र सदस्यहरुलाई सामुहिक रुपमा पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । निर्वाचन अधिकृत भोलाराज रेग्मीले ३७ जना नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

‘गुर्जा, खिवाङ, मलम्पार, लुलाङ, लमसुङ लगायत बस्तीमा कार्यकालभित्र सडक पु¥याउने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष प्रेम पुनले बताउनुभयो । वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने लुलाङ, बुल लगायत ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने गर्ने पहिलो निर्णय भएको उहाँले बताउनुभयो ।

सपथ ग्रहणपछि अध्यक्ष पुनले शासक नभएर जनताको सेवकको रुपमा काम गर्ने प्रतिवद्धता जनाउँदै आफ्नो भूगोलका समस्या, आवश्यकता पहिचान र समाधानका लागि सवै जनप्रतिनिधीहरुलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न अध्यक्ष पुनले निर्देशन दिनुभयो ।

उपाध्यक्ष रेशम पुनले गाउँपालिकामा उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग तथा परिचालन गरेर विकासमा उपलब्धी, नागरिकले शुसासन र सम्बृद्धी हासिल गर्ने आफूहरुको योजनामा निवर्तमान जनप्रतिनिधी, कर्मचारी, राजनीतिकर्मी र सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।

‘हामी सबै नागरिकको साझा प्रतिनिधीको रुपमा जनताले महशुस गर्ने गरी काम गर्नुपर्छ’ । उहाँले भन्नुभयो ‘हाम्रो गाउँपालिकालाई कसरी विकास गर्ने, नागरिकको जिवनस्तर कसरी सुधार गर्ने र शुसासन कायम गर्ने भनेर सबै केन्द्रित हुनुपर्छ ।’

निवर्तमान गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सिमित स्रोत, भौगोलिक विकटता, न्युन जनशक्ति, प्राकृतिक विपद र महामारीका वाजुद सडक, विद्युतीकरण, शिक्षा, स्वास्थ्य र कानुन निर्माणको क्षेत्रमा उल्लेख्य काम भएको बताउदै त्यसलाई आधार बनाएर अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सुझाव दिनुभयो । सकारात्मक कार्यमा साथ र कमजोरीमा खबरदारीको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित राजाराम उपाध्याय र झकबहादुर छन्त्यालले विभेदरहित सेवा र सन्तुलित विकासको सिद्धान्त अनुसार काम गर्ने बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी इकाइका सभापति तेजेन्द्र थापाले विकट भएपनि जलविद्युत, पर्यटन, जडिवुटीको क्षेत्रमा भएको धवलागिरीको सम्भावनालाई रोजगारी सिर्जना र आर्थिक स्तर सुधारमा परिचालन गर्ने योजना बनाउन सुझाव दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा शाखाका प्राविधिक सहायक ख्याम सुवेदीले स्वागत गर्नुभएको थियो ।