मुस्ताङमा भित्रिए ४३ हजार विदेशी पर्यटक

ठाकुरप्रसाद आचार्य/मुस्ताङ
जेठ २४ गते ।

हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो पाँचमहिनाको अवधिमा करिब ४३ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) मुस्ताङले दिएको जानकारी अनुसार सन २०२३ को जनवरी देखि मे महिनाको अन्तिम सम्ममा ४३ हजार आठसय ६९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । ति मध्य चार हजार आठसय ७८ जना पर्यटक राउन्ड अन्नपूर्ण पदयात्राका लागि थोराङपास हुँदै मुस्ताङ जान अनुमति लिएका हुन ।

वसन्त ऋतुको यो सिजनमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या अघिल्लो वर्षको भन्दा धेरै हो । मुस्ताङ भित्रिएका विदेशी पर्यटकहरु जोमसोम,मुक्तिनाथ र अपर मुस्ताङको लोमान्थाङ सम्मको भ्रमण गरेका छन् ।

लोमान्थाङ एतिहासिक प्राचिन वस्तीका रुपमा परिचित छ । यो अवधिमा एकहजार ९० जना विदेशी पर्यटकले लोमान्थाङको भ्रमण गरेको एक्यापले उपलब्ध गराएको तथ्याङमा छ ।

अघिल्लो वर्ष भन्दा यसवर्ष मुस्ताङमा उत्साहजन रुपमा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका प्रमुख अशोक सुवेदीले बताउनुभयो । उहाँका अनुसार मुस्ताङ भित्रिने पर्यटक मध्य ९० प्रतिशत छिमेकी मुलुक भारतका रहेका छन् । पर्यटक संख्यामा वृद्धिले कोरोनाका कारण सुस्ताएको पर्यटन अव विस्तारै पुरानै लहैमा फर्किन लागेको संकेत मिलेको उहाँले बताउनुभयो ।

एक्यापका प्रमुख सुवेदीले दिएको जानकारी अनुसार पछिल्लो पाँचमहिनामा मुस्ताङ भित्रिएका पर्यटकको संख्या अघिल्लो वर्ष यो अवधिमा भित्रिएका पर्यटक भन्दा धेरै हो । अघिल्लो वर्षको यो अवधिमा २७ हजार ३ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

मुस्ताङका वारेमा विदेशमा सकरात्मक प्रचारप्रसार भएकाले पर्यटक संख्या वृद्धि भएको उहाँको भनाई छ । राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेको प्रमुख सुवेदीले बताउनुभयो ।

पर्यटक आगमन वढेसँगै मुस्ताङका होटल व्यवसायीहरु उत्साहित भएका छन् । अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा मुस्ताङलाई पनि राखेकाले आगमी दिनमा विदेशी पर्यटक वढ्ने अपेक्षा गरिएको एक्याप मुस्ताङका प्रमुख सुवेदीले बताउनुभयो ।

सडक यातायातको सहज पहुँच, पदयात्रा र भ्रमणका लागि अनुकुल मौसम, सुविधा सम्पन्न होटल, प्रर्वद्धनात्मक गतिविधि र पूर्वाधार निर्माणसँगै मुस्ताङमा स्वदेशी पर्यटक बढेको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभयो ।

सडक निर्माणसँगै मासिएका पुराना पदमार्गको विकल्पमा नयाँ मार्गको विकास, धार्मिकस्थल दामोदरकुण्डलाई सडक सञ्जालमा जोड्ने, ऐतिहासिक महत्वका गुम्बा, दरबार र संस्कृति संरक्षणमा जोड दिनसके आगमी दिनमा अझै पर्यटक वढ्ने आशा गरिएको उहाँले बताउनुभयो ।

मुस्ताङको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पूर्णता दिन आवश्यक रहेको छ । नयाँ गन्तव्यको पहिचान, प्रवद्र्धन र धार्मिक ऐतिहासिक सम्पदाको संरक्षणमा प्राथमिकता दिन आवश्यक रहेको उपप्रमुख थकालीले बताउनुभयो ।

 

उजाड पहाड,प्राकतिक सुन्दरता,हिमाल, हिमाली हावापानी, परम्परागत थकाली संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलहरु हुन । साभार गोरखापत्र अनलाइन