पाँच महिनाको अवधिमा गलेश्वरमा एकलाख भक्तजन आए

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ २४ गते ।

कालिगण्डकी करिडोरमा पर्ने प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा पछिल्लो पाँचमहिनाको अवधिमा करिब एकलाख धार्मिक पर्यटकले मन्दिरको दर्शन गरेका छन् ।

मुक्तिनाथ प्रवेशद्धारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरको दर्शन गर्न गत माघ देखि जेठ १५ सम्म उक्त संख्यामा धार्मिक पर्यटक भित्रिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । प्रयाजसो नेपालका सवै जिल्लाबाट भक्तजनहरु गलेश्वर मन्दिरको दर्शन गर्न आएको कोषको भनाई छ ।

बेनी–जोमसोम कोरला सडक हुँदै मुक्तिनाथ दर्शन गर्न हिडेका आन्तरिक र भारतीय धार्मिक पर्यटकले गलेश्वरको दर्शन गर्ने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । कोरोनाकाल पछि गलेश्वरमा दर्शन गर्ने भक्तजनको यो सवै भन्दा धेरै संख्या हो ।

उहाँले भन्नुभयो,‘‘अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष गलेश्वर दर्शन गर्न आउने धार्मिक पर्यटकको संख्यामा निकै नै वृद्धि भएको छ । स्वदेश तथा विदेशमा गलेश्वरको सकरात्मक प्रचारप्रसारले पर्यटक संख्या बढाउन मद्दत पुगेको छ ।’’

मुक्तिनाथ दर्शन गर्ने सिजनका समयमा दैनिक दुईहजार देखि पाँचहजार सम्म धार्मिक पर्यटकले गलेश्वरको दर्शन गरेको कार्यालय सचिव बानियाँले बताउनुभयो । उहाँका अनुसार यो अवधिमा भक्तजनहरुले चढाएको दान र भेटी गरेर ४३ लाख आठसय १५ रुपियाँ संकलन भएको छ ।

भेटी संकलनको अवस्थालाई हेर्दा भक्तजनहरुको संख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो । भक्तजनको सुविधाका लागि गलेश्वर क्षेत्रविकास कोषले निशुल्क धर्मशालाको व्यवस्था समेत गरेको छ ।

पछिल्लो एकमहिनाको अवधिमा भारतीय धार्मिक पर्यटकको संख्यामा पनि वृद्धि भएको कोषले जनाएको छ । कोषका अनुसार एकमहिनाको अवधिमा भारतीय भक्तजनले चढाएको ३० हजार भारतीय रकम संकलन भएको छ ।

गलेश्वरमा धार्मिक पर्यटक बढ्नु सकरात्मक सन्देश भएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गत माघ महिनामा गलेश्वर स्थित कालिगण्डकीको शिला भारतको अयोध्यमा लगेपछि भारतीय पर्यटकहरुको संख्यामा वृद्धि भएको उहाँले बताउनुभयो ।

शिलाका कारण भारतमा रहेका हिन्दुहरुकाबीचमा कालिगण्डकी,मुक्तिनाथ र गलेश्वर क्षेत्रको धार्मिक महोत्वका वारेमा सकरात्मक सन्देश प्रवाह भएकाले भारतीय भक्तजनहरुको संख्या बढेको उहाँले बताउनुभयो । आगमी दिनमा भारतीय धार्मिक पर्यटकको संख्यामा अझै वृद्धि हुने उहाँले आशा व्यक्त गर्नुभयो ।

ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण मानिएको गलेश्वरधाम रघुगंगा र कालीगण्डकी नदीको संगमस्थलमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ । गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । साभारः गोरखापत्र अनलाइन