पाखापानीमा बाढीले बगाउँदा महिलाको मृत्यु

विकल्प न्यूज/म्याग्दी
जेठ २२ गते ।

फाइल तस्विर

म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीको कालावाङकी एक महिलालाई बाढीले बगाउँदा उहाँको मृत्यु भएको छ । सोमबार दिउँसोको वर्षापछि आएको बाढीले बगाउँदा कालावाङकी २४ वर्षीया हरिमायाँ शेरपुञ्जाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

घाँस काट्न गएकी महिला पानी परेपछि ओत लाग्न हिड्ने बेलामा एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएको उहाँले बताउनुभयो । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) गोबद्र्धन दुराले घटनास्थलमा प्रहरी टोली पुगेको र मृतकको शव फेला परेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोली पनि घटना स्थलतर्फ प्रस्थान गरेको प्रहरी निरीक्षक (इन्सपेक्टर) कुमार गुरुङले जानकारी दिनुभयो । त्यस्तै, वर्षाको पानीले रघुगंगा गाउँपालिका –८ कुइने मंगलेका दिलमान छन्त्यालको घर भत्केर पूर्णरुपमा क्षति पुगेको अध्यक्ष भण्डारीले बताउनुभयो ।