गलेश्वरमा करिव साढे ६ लाख भेटी संकलन

विकल्प न्यूज/बेनी
जेठ २२ गते ।

म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धाममा एक महिनाको अवधिमा करिब साढे ६ लाख रुपियाँ भेटी संकलन भएको छ । गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुबाट एकमहिनाको अवधिमा ६ लाख ४४ हजार ६९७ रुपियाँ भेटी संकलन भएको गलेश्वर क्षेत्रविकास कोषले जनाएको छ ।

गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार भेटी सोमबार गणना गरिएको थियो । भेटीलाई सोमबार कोषका समिति, कर्मचारी, गलेश्वर बजारबासी, आमासमूह शसस्त्र प्रहरीको उपस्थितमा भेटी गणना गरिएको खत्रीले बताउनुभयो ।

भक्तजनले गलेश्वरधामको मुल मन्दिर, शिव, गणेश, लक्ष्मीनारायण मन्दिर, जलकुण्ड, होमनकुण्ड, हनुमानको मुत्ति लगायत विभिन्न स्थानमा धार्मिक भक्तजनले दर्शन गर्दा चढाएको भेटीलाई कोषले गणना गरेको हो ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको भेटीमार्फत मन्दिरको कोषमा हालसम्म ३ करोड ९५ लाख रुपियाँ संकलन भएको सदस्य सचिव खत्रीले जानकारी दिनुभयो ।