ताजा समाचार:
Search

न्यायिक समितिलाई क्षमता विकास तालिम

म्याग्दी, जेठ २१ गते । 

संविधान जारी भएपछिको दोश्रो स्थानीय तह निर्वाचन भएको एक वर्षपछि म्याग्दीको बेनी नगरपालिकाले न्यायिक समितिलाई क्षमता विकास तालिम लिन सुरु गरेको छ ।

नगरपालिकाले आयोजना गरेको तीन दिने तालिममा ४० जनाको सहभागिता थियो । न्यायिक समितिका पदाधीकारी, सुचिकृत मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीहरु सहभागि तालिमको म्याग्दी जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपाल, अधिवक्ता ममतादेवी शर्मा लगायतले सहजिकरण गर्ने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख केसीले स्थानीय जनताको समस्या सम्बन्धीत ठाउँमै निरुपण गर्न सकेमा समय र पैसाको समेत बचत हुनुका साथै नागरिकले न्यायको अनुभव गर्न पाउने बताउनुभयो ।

गाउँ, टोल र वडा स्तरमै विवाद समाधान गर्न सकेमा नगरपालिका, अदालत, प्रशासन, प्रहरी र वकिल कहाँ धाउन पर्ने समस्या कम हुने र त्यसले समय र पैसाको बचत गर्नुको साथै आत्मीयता पनि रही रहने बताउनुभयो ।

नगरपालिकाको वडा स्तरमै मेलमिलाप केन्द्र सञ्चालन गर्न आवश्यक जनशक्ति तयार पार्ने र सुचिकृत मेलमिलापकर्ताहरुको समेत क्षमता विकास गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख तथा न्यायीक समिति संयोजक ज्योती लामिछानेले जानकारी दिनुभयो ।

नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको २६ वटा उजुरीहरुमध्ये अधिकांश सहमति कायम गरेर समाधान गरिएको बताउँदै नागरिकलाई सहज रुपमा वडामै न्यायिक सेवा पाउने वातावरण बनाउनुका साथै मेलमिलाप केन्द्र सञ्चालन गर्न चालु आर्थिक वर्षमै सामग्री व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।