नारच्याङको फुतफुते झरनामा पुग्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ १० गते ।

निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरीपरी सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउने गर्दछ । यो झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्दछ । झरनाको सुन्दरतामा पर्यटकहरु रमाउने गर्दछन् ।

अन्नपूर्ण,अन्नपूर्ण साउथ, निलगिरी र बराहशिखर हिमालबाट हिउँ पग्लीएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरनाले पदमार्गलाई सुन्दरता दिएको छ । हुमखोलाबाट एकघण्टाको पैदलयात्रा पछि झरनामा पुग्न सकिन्छ । नारच्याङबाट सवारी साधनको प्रयोग गरेर दुई घण्टामा हुमखोलामा पुगिन्छ ।

पहाडको खोचबाट खसेको झरना र पानीको निलो ताल छ । पदमार्गमा यात्रा गर्ने पर्यटकहरु झरनासँगै तस्विर र भिडियो खिच्न पर्यटकहरु लोभिन्छन् । ‘‘झरना निकै सुन्दर रहेछ । सफा र निलो रङको पानी देखिने झरनाको अवलोकन गर्दा निकै आनन्द महसुस भयो,’’ ‘‘ पहिलो पटक झरनाको अवलोकन गर्न पुग्नुभएका अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका प्रदिप पुनले भन्नुभयो, ‘‘लामो यात्रा पछि आउने यो झरनाले पदयात्रालाई निकै रमाईलो बनाइदियो । थकान विसाईदियो ।’’

मौरिस हर्गोज पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले पछिल्लो समय झरनाको अवलोकनका लागि आउने पर्यटकको संख्यामा वृद्धि भएको बताउनुभयो । नारच्याङ देखि निजिकै रहेको झरनामा पूर्वाधार निर्माण र थप प्रचारप्रसार गर्नसके पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने गुरुङले बताउनुभयो ।

राम्रो पर्यटकीय संभावना भएको झरनालाई सजिलो सँग अवलोकन गर्न मिल्ने गरी पालिकाले भौतिक पूर्वाधार र पर्यटकका लागि आश्रयस्थल निर्माण गर्ने सोच बनाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । साभारः गोरखापत्र अनलाइन