ताजा समाचार:
Search

दरबाङमा सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु

विकल्प न्यूज/बेनी
जेठ ९ गते ।


म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा आज (मङ्गलवार)देखि सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु भएको छ । सिटिईभिटी र सम्मानित रोजगारका लागि सिप परियोजनाको आर्थिक सहयोगमा तालिम चलाइएको हो ।

धवलागिरि प्राविधिक शिक्षालय थासाङ–३, कालोपानी मुस्ताङको आयोजना तथा मालिका गाउँपालिका–६, दरबाङको समन्वय र व्यवस्थापनमा सिपमूलक बेकरीसम्बन्धी तालिम सञ्चालन गरिएको छ । तालिमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले सिप सिकेर उद्यमी बन्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष बिटालुले तालिमबाट सिप सिकेर आउँदा दिनहरुमा त्यसलाई पूर्ण रुपले व्यवहारमा उतार्नुपर्ने बताउँदै उद्यमको क्षेत्रमा लागेर व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य गौमती चापागाईँले तालिममा सक्रियतापूर्वक सहभागी भई सिप सिकेर व्यवसाय गर्नुपर्ने बताउनुभयो । धवलागिरि प्राविधिक शिक्षालयका संयोजक खड्क सुब्बाले आउँदो दिनमा दरबाङ क्षेत्रमा अन्य तालिमहरु समेत सञ्चालन गरिने जानकारी दिनुभयो ।

यसैगरी मालिका गाउँ कार्यपालिकाका सदस्य छरदेवी घर्तीले उद्यम गर्न चाहनेहरुलाई पालिकामार्फत आवश्यक सिपमूलक तालिम तथा प्रविधिहरु सहयोग गर्ने बताउनुभयो । न्यू दरबाङ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ममसरा कार्की र चिउरीबोट महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीता गौतमले व्यवसाय गर्नेहरुलाई सहकारीमार्फत आवश्यक कर्जा उपलब्ध गराइने बताउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका सदस्य चापागाईँको अध्यक्षता र मालिका गाउँपालिकाको वरिष्ठ उद्यम विकास सहजकर्ता होमदेवी खत्रीको सञ्चालनमा सम्पन्न तालिमको उद्घाटनसत्रमा दरबाङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष अमृत सापकोटाले स्वागत गर्नुभएको थियो ।
आगामी १२ दिनसम्म सञ्चालन हुने सिपमूलक बेकरीको तालिममा मालिका गाउँपालिकाका ३० जनाले सहभागिता जनाएका छन् । तालिमको धवलागिरि प्राविधिक शिक्षालयका प्रशिक्षक राजु लामाले सहजीकरण गरिरहनुभएको छ ।