नारच्याङले दावी ग¥योे रोयल्टीको पचास प्रतिशत

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ ९ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयहरुले प्राकृतिक स्रोतको रोयल्टी वापत पालिकालाई प्राप्त हुने रकमको पचास प्रतिशत पाउनुपर्ने माग गरेका छन् ।

जलविद्युत आयोजनाको हबका रुपमा चिनिएको अन्नपूर्ण गाउँपालिकाले यस वर्ष प्राकृतिक स्रोत परिचालन वापतको रोयल्टी आठ करोड ७८ हजार रुपियाँ पाउने भएको छ । त्यसमध्य ७३ लाख रुपियाँ गाउँपालिकालाइ प्राप्त भइसकेको छ ।

रोयल्टी वापत प्राप्त भएको रकम वाँडफाँडका सोमबार वसेको कार्यपालिकाको वैठकले नीति बनाएपछि नारच्याङवासीहरुले विरोध जनाएका छन् । जलविद्युत आयोजनाबाट सवै भन्दा धेरै प्रभावित वडा भएकाले रोयल्टीको पचास प्रतिशत रकम पाउनुपर्ने स्थानीयहरुले माग गरेका छन् । कार्यपालिकाको वैठकमा नारच्याङले पचास प्रतिशत पाउनुपर्ने माग राखेको वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘जलविद्युत आयोजनाहरु धेरै नारच्याङमा सञ्चालन भएको र पालिकाका अन्य वडाभन्दा नारच्याङ धेरै प्रभावित वडा भएकाले पालिकामा आउने रोयल्टी वापतको रकमको कम्तिमा पचास प्रतिशत पाउनुपर्दछ । यो न्यायसंगत पनि हुन्छ । पचास प्रतिशत नपाए हामी आन्दोलनमा जान्छौं ।’’

‘‘पालिकाको निर्णयमा मेरो सहमति छैन । दुईचार दिनभित्र गाउँको भेला डाकेर के गर्ने भन्ने निर्णयमा पुग्छौं,’’ वडाध्यक्ष फगामीले भन्नुभयो,‘‘जलविद्युत आयोजनाबाट सवैभन्दा धेरै प्रभावित वडा नारच्याङ हो,हामीले हाम्रो जमिन गुमायौं,पानीका मुहानहरुमा ठूलो असर गरेको छ । बम ब्लास्टिङले वातावरणमा असर पु¥याएको छ । हाम्रो पारिस्थितिक प्रणाली अस्तब्यस्त भएको छ र चारैतिर विजुलीका तारैतारले गाउँलाई नै कुरुप बनाएको छ ।’’

पालिकालाई प्राप्त हुने रोयल्टीको रकम बाँडफाँडका लागि कार्यपालिकाको वैठकबाट भविष्यमा पनि सहज होस् भनेर नीति बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित र नजिकको वडालाई २५ \२५ र पालिकालाई वाँकी ५० प्रतिशतका आधारमा रोयल्टी बाँडफाँड गर्ने गरी नीति बनाउने कार्यपालिकाले निर्णय गरेको उहाँले बताउनुभयो ।

अन्य वडाहरुमा पनि जलविद्युत आयोजनाहरु निर्माणधिन अवस्थामा रहेकाले एउटै वडालाई मात्र पचास प्रतिशत दिँदा अन्य वडालाई भोलीका दिनमा अन्याय हुने उहाँले बताउनुभयो । कार्यपालिकाका १६ जना मध्य १५ जना सदस्यले उक्त निर्णयमा सहमति जनाएको उहाँले बताउनुभयो ।